दलको बैठक नबसी १५ दिनको तलब दिने घोषणा गरेको भन्दै एकीकृत समाजवादीका सांसदहरूको असन्तुष्टि

काठमाण्डु टुडे २०८१ असोज १६ गते १६:५३ मा प्रकाशित

काठमाण्डु, १५ असोज– नेकपा एकीकृत समाजवादीका सांसदहरूले आफूहरूसँग छलफल नै नगरी बाढी पहिरो प्रभावितको सहयोगार्थ १५ दिनको तलब दिने सचेतक मेटमणि चौधरीले घोषणाप्रति असन्तुष्टि व्यक्त गरेका छन ।

उपमहासचिव समेत रहेका सचेतक चौधरीले बुधवार वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टी र दलको निर्णयअनुसार सांसदहरूका तर्फबाट १५ दिनको पारिश्रमिक गर्ने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणासहितको पत्र संसद् सचिवालयमा बुझाएका थिए ।

तर सो पार्टीका सांसदहरूले भने सचेतकको उक्त घोषणा आफूखुसी भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन । एक असन्तुष्ट सांसदले भने, ‘पहिलो कुरा हामीसँग कुनै औपचारिक अनौपचारिक कुनै छलफल गरिएन, संसदीय दलको बैठक पनि राखिएन एकैपटक १५ दिनको तलव दिने भनेर सचेतकको पत्र सार्वजनिक भयो’, ‘पार्टी अध्यक्ष समेत काठमाण्डु बाहिर भएका बेला कसरी यस्तो निर्णय भयो भनेर हामी नै आश्चर्यमा परेका छौ ।’

ती सांसदले पार्टी र दलको बैठक बसेर छलफल भएको भए बाढी प्रभावितका लागि आफूहरू एक महिनाकै तलब समेत दिन सक्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us