सरकारले चार हजारभन्दा बढी मानिसलाई उद्धार गरेर बचाएको छ: प्रधानमन्त्री

काठमाण्डु टुडे २०८१ असोज १५ गते १७:०८ मा प्रकाशित

काठमाण्डु, १५ असोज– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो र डुबानजस्तो विपत्तिमा सरकारले जानीजानी उद्धारमा ढिलो नगरेको दाबी गरेका छन ।

आज मंगलबार आयोजित पत्रकार सम्मेलनमा यस प्रकारको विपत्ति आउला भन्ने अनुमान नभएको भन्दै सरकारले गरेको पूर्व तयारी भएपनि यति ठुलो होला भन्ने अनुमान नगरेको प्रधानमन्त्री ओलीले बताएका छन ।

साथै उनले यो बेला सरकार जनताले भोगिरहेको पीडामा उद्धार, राहत, सहयोग र पुनर्निर्माणका काम गर्नेमा लाग्ने पनि बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘यस्ता कुरामा हामी नेपाली एक हुनुपर्छ र साझा विपत्तिको सामना गर्नुपर्छ, ‘विपत्तिले राजनीतिक रङ, पेसा व्यवसाय छुट्टाएर मर्का पारेको हुँदैन ।

कमीकमजोरी कहीँ छन् देखाउन सकिन्छ तर केही राम्रा कामपनि सरकारले गरेको होला ।’उनले सरकारको सचेतताकै कारण चार हजारभन्दा बढी मानिसलाई उद्धार गरेको भन्दै सरकारले नगरेको भए उनीहरू बाच्न गाह्रो हुने पनि बताएका छन । प्रधानमन्त्री ओलीले थपे, ‘यो कुरा पनि हामीले देख्नुपर्छ ।

केही गर्दै नगरेको होइन सक्दो गरेको छ । यद्यपि आगामी दिनमा कमी कमजोरी हुन दिनुहुँदैन ।’ उनले संरचनागत त्रुटिका कारण पनि क्षति बढी हुनपुगेको भन्दै आगामी दिनमा त्यसबारे सबैले सोच्नुपर्ने पनि बताएका छन ।

उनले राजमार्गहरू निर्माणका क्रममा कतिपय ठाउँमा ढिलासुस्ती भएको हुनसक्ने भन्दै अहिले आएर ढिला भएको भन्न नमिल्ने पनि बताएका छन । प्रधानमन्त्री ओलीले यस दुःखबाट उम्केपछि पनि बिर्सन नमिल्ने भन्दै विपदका बेला शेयर मार्केट डाउन हुनु स्वाभाविक भएको बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us