काठमाण्डु, १५ असोज– माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले विपत व्यवस्थापनमा गरेको कमजोरीको गम्भीर समीक्षा गर्दै राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम युद्धस्तर अघि बढाउन आग्रह गरेका छन् ।
प्राकृतिक विपत्तिमा परेका नागरिकका लागि राहत, पुनर्स्थापना र पुनःर्मिाणका लागि माओवादी केन्द्रले सुरु गरेको स्वयंसेवक परिचालन अभियानको काठमाण्डुको बल्खुस्थित सुकुम्बासी वस्तीमा उद्घाटन गर्दै मंगलबार उनले यस्तो आग्रह गरेका छन् ।
मौसमको पूर्वानुमान हुँदाहुँदै सरकार विपत व्यवस्थापनको तयारी र प्रतिकार्यको काममा चुकेका कारण बढी क्षति भएको उनको भनाइ थियो ।
प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले संकटको समयमा सत्ता पक्ष विपक्ष नभनी आमजनतालाई हातेमालो गरेर राहत र पुनर्स्थापनामा जुट्न आग्रह गरे ।
२०७२ सालको महाभूकम्पको बेलामा पनि आफूले प्रतिपक्षी दलको नेताकै रुपमा संविधान निर्माण र पुनर्निर्माणको नेतृत्व गरेको उल्लेख गर्दै उनले यसपटक पनि जनताको पीडा र दुःखमा दिन पूर्णरुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।