राज्य व्यवस्था समितिको सरकारलाई निर्देशनः हवाई भाडा नबढाउनु, यातायात तत्काल सञ्चालन गर्नु

काठमाण्डु टुडे २०८१ असोज १५ गते १६:२५ मा प्रकाशित

काठमाण्डु, १५ असोज–प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बाढीपहिरोका कारण अवरुद्ध भएका सडक सञ्जाल तत्काल सञ्चालनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले हवाई भाडा नबढाउन र सडक यातायात सुचारू गर्न निर्देशन दिएको सभापति रामहरि खतिवडाले जानकारी दिए ।
समितिले सम्भव भएका सबै उपाय अबलम्बन गरी उद्धार, राहत र राहत र पुनर्स्थापनाको काम तदारुकतासाथ अगाडि बढाउन निर्देशन दिएको उनले बताए ।

‘हवाई भाडा नबढाउन, सडक यातायात सुचारु गर्नका लागि भएका बाटाहरु तत्काल यातायातका साधन चल्ने गरी मर्मत सम्भार गर्न, सडकमा पहुँच हुन नसकेका जिल्लाहरुमा हवाई यातायातको व्यवस्था गर्न, खाद्यान्न, तरकारी, फलफूल आदिको पूर्ववत मूल्य बढ्न नदिन बजार अनुगमन गर्न र पीडितहरुले राहत छिटो भन्दा छिटो पाउने व्यवस्था गर्न सरकारलाई निर्देशन गर्दछ’ समितिको निर्णयमा भनिएको छ ।

समितिले विभिन्न जिल्लाका अलपत्र परेका यात्रीहरुलाई तुरुन्तै उद्दार गरी गन्तव्यमा पुऱ्याउन पहल गर्न र जनधनको थप क्षति हुन नदिनका लागि तत्काल आवश्यक सबै तयारी गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

वर्षाका कारण नष्ट भएका सिचाई कुलोहरु, पिउने पानी, विद्युत्, टेलिफोन सडक आदिको तत्काल मर्मत गरि जनताको दैनिकी र यस अवस्थामा घाइतेहरुको औषधि उपचारलाई सहज बनाउन सरकारलाई समितिको निर्देशन छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us