संसदीय समितिमा गृहमन्त्रीको झुठो दाबीः नख्खुमा सरकार थियो, बग्दै गरेका तीन जनाको उद्धार भयो

काठमाण्डु टुडे २०८१ असोज १५ गते १६:०४ मा प्रकाशित

काठमाण्डु, १५ असोज– गृहमन्त्री रमेश लेखकले नख्खुमा बाढीमा बग्दै गरेका तीन जनाको सरकारी संयन्त्रले उद्धार गरेको झुठो दाबी गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा मंगलबार लेखकले सुरक्षाकर्मीले नख्खुमा बाढीमा फसेका तीन जनाको उद्धार गरेको र दुई जना अझै हराइरहेको बताए ।

टहराको छानामाथि चढेर गुहार मागिरहेका चारै जनालाई शनिबार बिहान ललितपुर महानगरपालिका–२५ सुगमटोलस्थित नख्खु खोलाले बगाएको थियो ।

उनीहरुमध्ये दुई जनाको काभ्रेको तेमाल गाउँपालिका–९ चोकटारका चाणिकलाल तामाङले उद्धार गरेका थिए भने एक जनाले आफैं पौडिएर ज्यान बचाए ।

चणिकलालले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेका थिए । राजुका भाइ २२ वर्षीय राज आफैँ पौडेर निस्किएका थिए । राजुकी छोरी ४ वर्षीया सेर्तुको अवस्था अझै अज्ञात छ ।

जबकि चाणिकलालले बगेकाहरुको उद्धार गरेको भन्दै कार्यबाहक प्रधानमन्त्री प्रकशमान सिंहले सोमबार कार्यालयमै बोलाएर सम्मान गरेका थिए । प्रत्यक्षदर्शीले पनि चाणिकलालले नै उद्धार गरेको बताइरहेका छन् ।

स्मरणीत त के छ भने शनिबार मन्त्री लेखकले भिजिबिलिटी कम भएका कारण हेलिकोप्टर उडाउन नसक्दा नख्खुमा चार जनालाई बगाएका सरकार दुःखी भएको अभिव्यक्ति दिएका थिए ।

उनै मन्त्री लेखकले मंगलबार चाहिं उनीहरुको सरकारका तर्पबाट उद्धार भएको झुठो ब्रिफिङ संसदीय समितिलाई गरे ।

‘नख्खुमा सरकारको उपस्थिति भएन सरकारले हेर्नै सकेन भन्ने होइन । त्यहाँ सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि गएको छ ।

हेलिकप्टरबाट पनि उद्धार गर्न सकिन्छ कि भनेर प्रयास गरिएको हो प्रतिकूल मौसमका कारणले भएन,’ उनले भने भने, ‘त्यहाँ तीन जनाको उद्धार भयो । दुई जना बेपत्ता भएको अवस्था छ ।’

लेखकले सरकारले बाढीपहिरोमा परेकाहरूको खोज, उद्धार, राहत, उपचार तथा सडक मर्मतलाई प्राथिमकताका साथ अगाडि बढाएको बताएको दाबी गरे ।

राहत वितरण, घाइतेहरूको उपचार र अवरुद्ध सडक सुचारू गर्न लागि सरकार क्रियाशील रहेको उनको भनाइ थियो ।

गृहमन्त्री लेखकले विपदमा परेर हालसम्म २१८ जनाको मृत्यु भएको जानकारी गराए । १४३ जना घाइते र २७ जना बेपत्ता रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us