बाढीपहिरामा परी दुई सय १८ जनाको मृत्यु, २७ बेपत्ता

काठमाण्डु टुडे २०८१ असोज १५ गते १४:२६ मा प्रकाशित

 

काठमाण्डु, १५ असोज– गृहमन्त्री रमेश लेखकले बाढीपहिरामा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिएका छन ।

साथै उनले विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिएका छन । आज मंगलबार प्रतिनिधिसभा राज्यव्य तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन । उनले विपद्मा परेका नागरिकको खोज तथा उद्धार र राहतमा सरकार केन्द्रित भएको बताएका छन ।

उनले घाइतेको निःशुल्क उपचार र पहिरोका कारण अवरुद्ध मुख्य राजमार्ग र सहायक राजमार्ग खोलेर आवागमन सहज बनाउनेतर्फ सरकार केन्द्रित भएको जानकारी समेत दिएका छन ।

उनले भने, ‘खोज तथा उद्धार जारी छ । राहत सामग्री वितरणको कार्य पनि जारी छ । सरकारी अस्पतालमा घाइतेको निःशुल्क उपचार भइरहेको छ । राहत सामग्री परिचालन र पुनःस्थापनालाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति सक्रियतापूर्वक लागेका छन ।’

बैठकमा गृहमन्त्री लेखकले बाढीपहिरामा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल नेपाल र स्वयम्सेवकले विपद्मा फसेका चार हजार २२ जनाको उद्धार गरेका उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us