अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी

काठमाण्डु टुडे २०८१ असोज १५ गते १२:१३ मा प्रकाशित

काठमाण्डु, १५ असोज– यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन । राजमार्गमा पहिरो जाने क्रम नरोकिएको र सवारी साधनको सेड्युल बिग्रिएको भन्दै टिकटको अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिएका छन ।

गएको बिहिबारदेखि गएको अविरल वर्षासँगै गएको बाढी पहिरोका कारण चार दिनदेखि रोकिएका सवारी साधनहरू सोमबारदेखि गन्तव्यका लागि छुटेको थिए । पृथ्वी राजमार्गमा गएको पहिरोका कारण ती सवारी साधनहरू रोकिएका थिए ।

यसबाहेक पश्चिम नवलपरासीको दुम्कीबासमा गएको पहिरोका कारण त्यहाँ पनि सडक अवरुद्ध भएको थियो । अहिले छुटेका गाडी घटस्थापनादेखि टिकट काटेकालाई पुर्याउन गाडीहरू फर्किएर आउनै नभ्याउने उपाध्यक्ष सिटौलाले जानकारी दिएका छन ।

त्यसैले टिकट नै बिक्री गर्नुपर्ने अवस्था रहेको पनि उनले जानकारी दिएका छन । यद्यपि यसबारे दिउँसो महासंघको बैठक बसेर निर्णय गरिने उनले जानकारी दिए । अग्रिम टिकट बिक्री बन्द गर्ने तयारीबारे यातायात व्यवस्था विभाग भने बेखबर छ ।

विभागका प्रवक्ता इश्वरीदत्त पनेरुले यसबारे यातायात व्यवसायीले अहिलेसम्म केही जानकारी नगराएको उनले जानकारी दिएका छन । उनले देशभर यातायातको रुट परमिट खुला भएको सन्दर्भमा सम्बन्धित सवारीसाधन नै आइपुग्नुपर्छ भन्ने नरहेको उल्लेख गरे ।

उनले भने, ‘अहिले छुटेका गाडी आइपुग्न नभ्याए पनि दसैँका लागि थपिएका गाडीहरू छँदैछन्, त्यसैले टिकट बन्द नै गर्नुपर्छ भन्ने अवस्था हुँदैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us