अमेरिका र नेपालको परराष्ट्र मन्त्रालयबीच अब सिधै छलफल हुने

काठमाण्डु टुडे २०८१ असोज १५ गते ९:५८ मा प्रकाशित

काठमाण्डु, १५ असोज– नेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्र (बाइल्याटरल कन्सल्टेसन मेकानिजम) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्टमा) मा आयोजिक कार्यक्रममा नेपालका तर्फबाट परराष्ट्रमन्त्री आरजु राणा देउवा र अमेरिकाको तर्फबाट अमेरिकी राजनीतिक मामिलाका कार्यबाहक उपविदेशमन्त्री जोन बासले सोमबार हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नेपालको परराष्ट्र मन्त्रालय र अमेरिकी विदेश मन्त्रालयका उच्च अधिकारीहरूबीच संयन्त्रमार्फत विविध पक्षका बारेमा काठमाण्डु र वाशिङ्टनडिसीमा परामर्श र छलफल गरिने जनाइएको छ ।

सम्झौतापश्चात दुई देशका मन्त्रीहरूले नेपाल र अमेरिकाबीचको सामूहिक चासोका विविध विषयमा छलफल गरेका थिए ।

स्टेट डिपार्टमेन्टमा आयोजना गरिएको कार्यक्रममा नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल अमेरिकाका लागि कार्यवाहक राजदूत कुमारराज खरेल तथा अमेरिकाको तर्फबाट दक्षिण तथा मध्य एसियासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लु उपस्थित थिए ।

परराष्ट्रमन्त्री राणा वाशिङ्टनबाट दोहा प्रस्थान गरेकी छन् । त्यहाँ उनले नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै एसियाली सहकार्य संवादको समिटमा भाग लिनेछिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us