मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछु: मन्त्री यादव

काठमाण्डु टुडे २०८१ असोज १५ गते ९:२९ मा प्रकाशित

काठमाण्डु, १५ असोज– खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको बताएका छन् ।

सोमबार मन्त्रालयमा मेलम्ची बाढीपहिरो प्रभावित क्षेत्रका जनप्रतिनिधि, संघर्ष समितिका प्रतिनिधि, संघीय सरकारका विषयगत मन्त्रालयका प्रतिनिधिसँगको छलफलमा मन्त्री यादवले मेलम्चीका बाढी, पहिरोपीडितका मागहरुको सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको बताए ।
संघर्ष समितिका जायज मागप्रति मन्त्रालय चिन्तित रहेको उनले बताए। खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेको एक हप्तादेखि आफूले मेलम्ची पीडितका विषयमा जानकारी लिइ यस विषयलाई गम्भीरताका साथ लिएको उनले बताए ।

मन्त्री यादवले मेलम्चीका बाढीपीडितका समस्या समाधान गर्ने विषयमा आफूले अनौपचारिक रुपमा मन्त्रिपरिषद्मा कुरा उठाएको र प्रधानमन्त्री, गृहमन्त्रीसँग पनि छलफल गरिरहेको बताए ।

‘मेलम्चीपीडितका मुद्दाप्रति मन्त्रालय सकारात्मक छ। छलफल र समन्वयमार्फत समस्या समाधान गर्नुपर्छ,’ उनले भने ।

मेलम्चीपीडितका समस्या समाधान गर्न कति सम्भव छन्, राज्यले तत्काल के के गर्न सक्छरु उक्त विषयमा गृहकार्य गरी एउटा समिति बनाउनुपर्ने भन्दै यसका लागि मन्त्रालयले पहल गर्ने मन्त्री यादवले प्रतिबद्धता जनाए ।

‘मन्त्रालय यहाँहरुका जायज माग पूर्ति गर्न लागिरहेको छ । छलफलमार्फत सबैको हित हुने गरी समिति गठन गरी काम अगाडि बढाउने छौं,’ उनले भने ।

जनाताले आफ्ना जायज माग सम्बोधन गराउन सरकारविरुद्ध सडक संघर्ष गर्नुपर्ने अवस्था आउने विषय उपयुक्त नभएको बताउँदै मन्त्री यादले भने ‘सरकारले समस्याको सही समाधान गर्नुपर्छ । समस्या कसरी समाधान गर्न सकिन्छ भनेर छलफल गर्न तपाईंहरूलाई मन्त्रालयमा बोलाएको हुँ । काठमाण्डुवासीलाई पानी खुवाउने महान् कार्यमा यहाँहरुको सहयोग आवश्यक छ । सहजीकरण गरिदिनुहुन्छ भन्ने आशा लिएको छ ।’

२०७८ पुस २२ गते बसेको सरकारको मन्त्रिपरिषद् बैठकले मेलम्ची खानेपानी आयोजना० पुनः निर्माणसम्बन्धी योजना स्वीकृत गरेको थियो ।

सोअनुसार भौतिक पूर्वाधार मन्त्रालय, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सहरी विकास तथा भवन निर्माण मन्त्रालयबाट आफ्नो विषयगत क्षेत्रमा पूर्वाधार पुनःस्थापना तथा पुनःनिर्माण गर्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।

यसैगरी मन्त्रिपरिषद्बाट पारित भएको उक्त निर्णय कार्यान्वयनका लागि सम्बन्धित निकायले इमान्दारितापूर्वक कार्यान्वयन गर्न यादवले आग्रह गरे ।

छलफलमा सहभागी मेलम्ची बाढीपहिरो प्रभावित क्षेत्रका जनप्रतिनिधि, संघर्ष समितिका प्रतिनिधिहरुले आफ्ना मागका विषयमा सरकारले सुनुवाइ गर्नुपर्ने बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us