विमानस्थलमा ओलीमाथि वर्षिएको एउटा भारी प्रश्नः चिड्चिहाट देखाए, दिएनन् जवाफ

काठमाण्डु टुडे २०८१ असोज १४ गते १८:५५ मा प्रकाशित

काठमाण्डु, १४ असोज– प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी भएर सोमबार स्वदेश फर्किए ।

ओलीले अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकार सम्मेलनबारे आयोजना गरे । पत्रकार सम्मेलनको सुरुमा परराष्ट्रका सहसचिव अमृत राईले ओलीको भ्रमण, राष्ट्रसंघमा उनले गरेको सम्बोधन र भेटघाटहरुबारे लामो विज्ञप्ति बाचन गरेर सुनाए ।

त्यसपछि प्रश्नका लागि आग्रह गरियो । ओलीलाई पहिलो प्रश्न थियो, चन्दा रौनियार नाम गरेकी सञ्चारकर्मीको छ । उनले ओलीलाई सोधेकी थिइन् ।
‘प्रधानमन्त्रीज्यू तपाईं अमेरिकामा हुनुहुन्थ्यो । नेपालमा अबिरल वर्षा भयो र अलिबर क्षति भएको छ । जनताहरु मर्माहत भएका छन् । सता÷सात घण्टा रोइकराई गर्दा पनि कसैले बचाएनन् । कोही बचाउन आएन । तपाईं यस्तो संकट सुनेर अमेरिकाबाट फर्किनुपथ्र्यो । फर्केको भए जनता कति खुसी हुन्थे । हाम्रो अभिभावक, हाम्रो सरकार आउनुभएको छ भनेर । अब जनताहरु त सरकार नै छैन भन्छन् नेपालमा । जनताहरुले प्रधानमन्त्रीको राजीनामा मागेका छन् । प्रधानमन्त्रीज्यू के भन्नुहुन्छ ?’

ओलीलाई पश्न परेको थिएन । रौनियारले प्रश्न सोधिरहेका बेला ओलीमा एक प्रकारको बेचैनीजस्तो देखियो । उनले प्रश्नप्रति असन्तुष्टि जनाएर केही बोलेजस्तो सुनिन्थ्यो । तर, प्रष्ट बुझिएन । तर, उनी अब पुग्यो भन्दै जवाफ दिन तम्सिए । तर, त्यति लामो प्रश्नको ओलीले छोटो जवाफ दिए । ‘म फर्किएर आएको छु ।’ बाँकी उनले बोल्न चाहेनन् ।

देशमा र्दुइ सयको ज्यान जाने गरी र अरबौंको भौतिक क्षति हुँदा ओली अमेरिकामा कार्यकर्तासँग फोटो सुटमा रमाएर हिंडेको भन्दै आलोचना भइरहेको छ । १० असोजमै राष्ट्रसंघ महासभालाई सम्बोधन गरिसकेका ओली देश विपत्तिको चपेटामा परेपछि भ्रमण छोट्याएर बीचैमा आउन सक्थे ।

महासभामा सहभागी अधिकांश मुलुकका सरकार र राष्ट्रप्रमुखले अमेरिका छाडिसक्दा पनि ओली घुमघाममै व्यवस्थ थिए । बास्तवमा रौनियरले सोधेको प्रश्न आमनेपालीको प्रतिनिधि प्रश्न थियो ।

तर, ओलीले त्यसको जवाफै दिएनन् । खाली म फर्किएर आएँ भन्दै त्यति गम्भीर प्रश्न स्किप गरिदिए ।

बरु उनले बाढी र पहिरोे भनेको पूर्वसूचना दिएर नआउने भन्दै ओठे जवाफ दिए । आफैं अमेरिका भैंसी दुहुन नगएको पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us