प्रधानमन्त्री फर्किंदा आधा घण्टा उडान प्रभावित, विमानस्थल भद्रगोल

काठमाण्डु टुडे २०८१ असोज १४ गते १८:२४ मा प्रकाशित

काठमाण्डु, १४ असोज– संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण सकेर फर्किदाँ अवतरणका बेला आज सोमबार आधा घण्टा नियमित उडान पूर्णरूपमा प्रभावित भएको छ ।

यसले विमानस्थलको उडान व्यवस्थापन अझ भद्रगोल बनेको विमास्थल स्रोतले जानकारी दिएको छ । विमानस्थल स्रोतका अनुसार आज दिउँसो ३ः५५ बाट आघा घण्टाका लागि ‘भीभीआईपी मुभमेन्ट’ भन्दै ‘नोटिस फर एयर मेन’ (नोटाम) जारी भएको थियो ।

नोटाम जारी भएको समयमा आन्तरिक विमानस्थलमा रहेका जहाज र अन्तर्राष्ट्रिय जहाजलाई यहाँबाट उड्न दिइएको थिएन अवतरण गर्न आइरहेका जहाजलाई भने ‘होल्ड’ गराइएको छ ।

प्रधानमन्त्री चढेको जहाज अवतरण गरेपछि भने उडान सामान्य भएको विमानस्थल स्रोतले जानकारी दिएको छ । आज बिहानैबाट त्रिभुवन विमानस्थलमा उडान व्यवस्थापनमा चाप भएको थियो ।

जसले गर्दा निर्धारित उडानहरू नै एक घण्टासम्म ‘डिले’ भइरहेका थिए । त्यसमाथि प्रधानमन्त्रीको सवारीले उडान अझ प्रभावित हुन पुगेको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us