राहत, उद्धार र पुनर्निर्माणलाई तीव्रता दिइने प्रधानमन्त्रीको घोषणा

काठमाण्डु टुडे २०८१ असोज १४ गते १८:२९ मा प्रकाशित

काठमाण्डु, १४ असोज– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्तिको बेला विरोधका लागि विरोध गर्नुको साटो विपत्तिमा परेकाहरूको उद्धार, राहत र पुनर्निर्माणमा तीव्रता दिनुपर्ने बताएका छन ।

संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी भई आज सोमबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

उनले सरकारी निकाय र जनस्तरबाट उद्धारको कार्य भइरहेको भन्दै अव थप तीव्रता दिइने पनि बताएका छन । त्यसक्रममा प्रधानमन्त्री ओलीले बाढी आउने कुरालाई रोक्न नसकिने भन्दै आफूले सकेअनुसार राहत र उद्धार गर्न सरकारका अङ्गलाई निर्देशन दिएको समेत बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘बाढी र पहिरो आउने कुरा पूर्वसूचना गरेर जाँदैन । गएपछि क्षति पुर्याउने नै हो । सरकारले राहत र उद्धारको काम गरेको छ, ‘मैले बाहिर हुँदा पनि जानकारी लिएको छु ।

सरकारले आफ्नो बुताअनुसार गरेको छ । विरोधका लागि विरोध होइन । सबै मिलेर अघि बढ्नु आवश्यक हुन्छ ।’

प्रधानमन्त्रीले अब आफू स्वदेश फर्केपछि पनि उद्धार, राहत र पुनर्निर्माणमा लाग्ने भन्दै त्यसलाई थप प्रभावकारी बनाउने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us