काठमाण्डु, १४ असोज– बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्धार तीव्र रुपमा भईरहेको छ ।
आइतबारदेखि गृह मन्त्रालयको अनुरोधमा नेपाली सेनाको हेलिकप्टरले काभ्रेपलाञ्चोकको बढी प्रभावित क्षेत्र रोशी गाउँपालिका लगायत विभिन्न प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टर परिचालित रहेको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले जानकारी दिएका छन । उनले भने, ‘गत शनिबार खराब मौसमका कारण काभ्रेपलाञ्चोकमा हेलिबाट उद्धार गर्न सकिएन, मौसममा सुधार आएसँगै सेनाको हेलिकप्टर उद्धारमा निरन्तर खटिएको छ ।’
सोमबारसम्ममा सेनाको हेलिकप्टरबाट काभ्रेपलाञ्चोकको दार्चा र मंगलटारबाट १३२ जनाको सकुशल उद्धार गरि सुरक्षित स्थानमा ल्याइएको उनले जानकारी दिएका छन । उद्धार गरी ल्याइएका र अलपत्र यात्रु तथा स्थानीयहरूलाई गृह मन्त्रालयले तत्कालको राहत सामाग्री पनि उपलब्ध गराइरहेको उनले जानकारी दिएका छन ।
त्यसैगरी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सिन्धुली र ललितपुरमा समेत पठाइएको प्रवक्ता तिवारीले जानकारी दिएका छन । आइतबार काभ्रपलाञ्चोक, सिन्धुली र ललितपुरमा गरी १६२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो । बिपी राजमार्गमा अवरुद्ध सडक खुलाउनुका साथै डोरीको सहायताबाट समेत सुरक्षाकर्मीले अलपत्र यात्रुहरूको उद्धार जारी राखेका छन् ।
सो क्षेत्रको सडक सुचारु गर्न आवश्यक सवारीसाधनका लागि पेट्रोलियम पदार्थ समेत हेलिकप्टरबाट ढुवानी गरिरहेको गृह मन्त्रालयले जानकारी दिएको छ । यता पहिरोका कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङको झ्याप्ले अवरुद्ध सडक आइतबार रातिदेखि सुचारु भएको छ ।
विपद्मा अलपत्र परेकाहरूको उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टिम प्रभावित क्षेत्रमा सक्रियताका साथ परिचालित रहेको गृह मन्त्रालयले जानकारी दिएको छ । हालसम्म सुरक्षाकर्मीहरूले चार हजार जनाको सकुशल उद्धार गरिसकेको प्रवक्ता तिवारीले जानकारी दिएका छन ।
खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिने, अस्थायी आवास निर्माणका लागि अनुदान उपलब्ध गराउने, अवरुद्ध सडक मर्मत गरी आवागमन सुचारु गर्न सबै सरोकारवाला मन्त्रालय एंव निकायसित समन्वय गरी अघि बढ्ने, विपद्मा परी घाइते भएका नागरिकहरूको निःशुल्क स्वास्थ्य उपचार लगायतका काम प्रभावकारी बनाउँदै लैजाने गृह मन्त्रालयले जानकारी दिएको छ ।