काठमाण्डू, १३ असोज- अदालतको अबहेलनामा दोषी ठहर भएका सिधा कुरा’ डटकमका प्रकाश युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगाना जेल चलान भएका छन् ।
सर्वोच्च अदालतको ९ सदस्यीय बृहत पूर्ण इजलासले आइतबार अदालतको मानहानी गरेको ठहर गर्दै उनीहरु दुवैलाई जनही तीन महिना जेल सजाय सुनाएको थियो ।
ढुंगानाले सामाजिक सन्जालमार्फत फ़ैसला स्वीकार गर्दै कँडेल र आफू सुनधारास्थित केन्द्रीय कारागार गएको जानकारी दिएका छन् ।
प्रसारित सामग्रीको विषयमा क्षमायाचना गरी सजाय माफीका लागि लिखित निवेदन दिए कँडेल र ढुंगानालाई तोकिएको सजाय घटाएर ७ दिन थुनामा राख्न आदेश भए पनि उनीहरु त्यसो नगरी पुरै अवधि तीन महिना जेल बस्न तयार भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी मुद्धामा न्यायाधीशहरुले आर्थिक लाभ लिएर फैसला गरेको भन्दै सिधाकुरा अनलाइनले ‘डार्क फाइल’ का नाममा फेक अडियो प्रसारण/प्रकाशन गरेको थियो ।
उक्त सामग्रीले अदालतको अवहेलना भएको भन्दै सर्वोच्चका उपरजिष्ट्रार गोविन्द घिमिरेले सिधा कुराविरुद्ध निवेदन दिएका थिए । सर्वोच्चले ‘फेक अडियो’ निर्माण गर्ने राजकुमार तिमल्सिनालाई भने ६ महिना कैद सजाय सुनाएको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, हरिप्रसाद फुँयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेशशर्मा पौडेल र बालकृष्ण ढकाल रहेको बृहत् पूर्ण इजलासले लामो समयपछि मुद्दाको किनारा लगाएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयले तिमल्सिना, कँडेल र ढुंगानाविरुद्ध साइबर अपराध कसूरमा यसअघि जिल्ला अदालत काठमाण्डूमा दायर मुद्धा दायर गरेकामा तीनैजना धरौटीमा रिहा भएका थिए ।