सिधाकुरा अनलाइनले अदालतको अपहेलना गरेको ठहर, प्रकाश र सम्पादकलाई तीन महिना जेल सजायको फैसला

काठमाण्डु टुडे २०८१ असोज १३ गते २०:०५ मा प्रकाशित

काठमाण्डु, १३ असोज– सर्वोच्च अदालतले सिधाकुरा डटकम नामक अनलाइनले अदालतको अवहेलना गरेको ठहर गरेको छ ।

आइतबार बसेको सर्वोच्चको पूर्णइजलासले फेक अडियो बनाउने राजकुमार तिमल्सिनालाई ६ महिना तथा सिधाकुराका प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुंगानालाई तीन÷तीन कैद सजाय हुने फैसला सुनाएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलका अनुसार सिधा कुरालाईलाई ५ हजार जरिवानासमेत भएको छ । पूर्णइजलासमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरु सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल र बालकृष्ण ढकाल थिए ।

सिधाकुरा डटकमले ‘डार्क फाइल’ का नाममा शृंखलाबद्ध रुपमा न्यायाधीशहरुले आर्थिक चलखेलमा लागेर अख्तियारको ‘स्टिङ अपरेसन’ सम्बन्धी नियमावली खारेज गर्ने फैसला गरेको समाचार प्रकाशित गरेको थियो ।

‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेसन’ शीर्षकमा प्रकाशित समाचार र अडियो सामग्रीविरुद्ध सर्वोच्चमा मुद्धा दायर भएको थियो ।

नेपाल प्रहरीको साइबर ब्युरो प्रमुख डिआर्इजी नविन्द अर्याल नेतृत्वको ६ सदस्यीय छानबिन समितिले सिधाकुराले प्रकाशित गरेको ‘चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्चको फैसला’ सम्बन्धी अडियो झुटो भएको निष्कर्ष निकालेको थियो ।

न्यायाधीश कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलासले गत ३० जेठमा उक्त मुद्दामा प्रारम्भिक सुुनुवाई गर्दै बृहत पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us