फुटबलर बन्ने छोराको सपना सिस्नेरीमा अस्ताएपछि शोकमा छन् माओवादी नेता घलान

काठमाण्डु टुडे २०८१ असोज १३ गते १९:३१ मा प्रकाशित

मकवानपुर, १३ असोज– माओवादी केन्द्रका मकवानपुरका युवा नेता ललित घलानलाई पुत्र शोक परेको छ ।

जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्षसमेत रहेका घलानका छोरा १३ वर्षीय अनुपमको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा शनिबार साथीहरुसँगै पहिरोमा पुरिएर मृत्यु भएको हो ।

स्थानीय वत्सलादेवी माविमा अध्ययन सँगै अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीको प्रशिक्षणमा रहेका ६ किशोरले शनिबार सुरक्षित स्थानमा जर्ने क्रममा पहिरोमा परी ज्यान गुमाएका थिए ।

अनुपमसँगै फुटबल सिकिरहेका १३ वर्षमुनिका बालकहरु साइमन योञ्जन, दिवस बानियाँ, विकल रेग्मी, प्रियान्स आचार्य र आदित्य बलमपाकीको पहिरोमा पुरिएर ज्यान गएको थियो ।

इन्द्रसरोबरस्थित कुलेखानी पहिलोको जलासय भरिएपछि खोल्ने क्रममा बाढी आउन सक्ने भन्दै नेपाल विद्युत प्राधिकरणले सचेत गराएपछि विद्यार्थीलाई विद्यालयबाट अन्यत्र सार्ने क्रममा घटना भएको थियो । उक्त विद्यालयमा १३ वर्षमुनिका ४० किशोरले एन्फाको प्रशिक्षणमा थिए ।
अनुपम ५ महिनाअघि मात्र फुटबल सिक्न एन्फा क्याम्पमा भर्ना भएका थिए ।

सानैदेखि फुटबलर बन्ने छोराको चाहना भएकाले घलानले अनुपमलाई एन्फा प्रशिक्षणमा राखेको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज विजय गौतमले बताए । हेटौंडा–४ स्थित आधुनिक माध्यमिक विद्यालयमा अध्ययनरत छोरालाई घलानले गत वैशाख अन्तिममा फुटबल सिक्न पठाएका थिए ।

छोरासँग घलानको शनिबार राति ९ बजेतिर टेलिफोन संवाद भएको थियो । त्यस क्रममा अनुमपमले बाढीको त्रासमा बाँचेको बताएका थिए । विद्युत प्राधिकरणका कर्मचारीले कुलेखानीको जलासयका ढोका खोलेपछि बाढी आउन सक्ने भन्दै माइकिङ गरिरहेको जानकारी अनुपमले ललितलाई गराएका थिए ।

रातभर त्यहीं बसेर भोलिपल्ट सुरक्षित स्थानमा जाने कुरा उनीहरुलाई प्रशिक्षकहरुले बताएका थिए । अनुपमले दसैंमा घर गएर तिहारसम्म हेटौंडामै बस्ने इच्छा गरेका थिए । १५ गते विद्यालयमा दसैं कार्यक्रम सकेर उनी घर जाने तयारीमा थिए । तर, सधैंका लागि पहिरोमा बिलिन भए ।

६ जनाको मृत्यु भएपछि बाँकी ३४ जनालाई सैनिक हेलिकोप्टरबाट उद्धार गरेर काठमाण्डु ल्याइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us