चियापान र शुभकामना कार्यक्रम छाडेर राहत र उद्धारमा जुट्न कार्यकर्तालाई एमालेको निर्देशन

काठमाण्डु टुडे २०८१ असोज १३ गते १५:५४ मा प्रकाशित

काठमाण्डु, १३ असोज– सत्ता घटक एमालेले बाढी, पहिरो प्रभावित क्षेत्र तथा जिल्लामा आगामी तीन दिनसम्म पूर्व निर्धारित शुभकामना र चियापानजस्ता कार्यक्रम नगर्न निर्देशन दिएको छ ।

आज आइतबार बिहान पार्टी केन्द्रीय कार्यालय र केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागको संयुक्त बैठकले यस्तो निर्देशन दिएको एमाले विपद् व्यवस्थापन विभागका प्रमुख खिमलाल भट्टराईले जानकारी दिएका छन ।

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र महासचिव शंकर पोखरेल समेत सहभागी बैठकले असोज १४ देखि १६ गतेसम्मलाई शुभकामना र चियापान जस्ता कार्यक्रम नगर्न निर्देशन दिएको उनले जानकारी दिएका छन ।

त्यस्तै बाढी, पहिरो प्रभावित जिल्लाका नेता कार्यकर्ताहरूलाई सो अवधिमा विपदमा परेका नागरिकको राहत र उद्धारमा सक्रिय हुन निर्देशन समेत दिएको उनले जानकारी दिए ।

बैठकले वर्षाबाट उत्पन्न विषम परिस्थितिमा जनतामाथि परेको पीडामा सहयोगी बन्ने सरकार, राजनीतिक दल, विभिन्न संघसंस्थालाई धन्यवाद दिँदै बाढीबाट प्रभावित भएको केन्द्रीय कार्यालयको सरसफाइ पनि पार्टी कार्यकर्ताको सहयोगमा गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us