कुलेखानी जलाशयको बाँधका ढोका बन्द गरियो

काठमाण्डु टुडे २०८१ असोज १३ गते १२:३८ मा प्रकाशित

काठमाण्डु, १३ असोज– जलाशयमा पानीको सतह स्थिर बनेपछि कुलेखानी जलाशयको बाँधका दुवै ढोका बन्द गरिएको छ । शनिबार रातिबाट बाँधका दुवै ढोका बन्द गरिएको कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिएका छन ।

भट्टका अनुसार कुलेखानीमा हाल १ हजार ५२८ मिटर पानीको सतह मापन गरिएको छ । पानीको सतह बढ्ने दर कम भएपछि बाँधका ढोकाहरू बन्द गरिएको उनले जानकारी दिएका छन ।

अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान ५ बजेबाट बाँधका २ वटा ढोका खोलिएको थियो । ढोका खोलेर जलाशयको पानी निकासा गरेको १२ घण्टापछि दुवै ढोका बन्द गरिएको उनले जानकारी दिएका छन ।

हाल कुलेखानीमा प्रतिघण्टा ३ सेन्टिमिटर प्रतिघण्टाका दरले पानीको सतह बढिरहेको पनि उनले जानकारी दिए । कुलेखानीका ३ वटै विद्युत् गृहबाट विद्युत् उत्पादन गरेर जलाशयमा पानीको सतह बढ्न नदिएको उनले जानकारी दिए ।

शनिबार साँझ १० सेन्टिमिटर प्रतिघण्टाको दरले बढेको कुलेखानी जलाशय हाल वृद्धि दर घटिरहेको उनको भनाई छ । नेपाल विद्युत् प्राधिकरणको ‘व्याकअप’ मानिने कुलेखानी जलाशयबाट ६० मेगावाट कुलेखानी प्रथम, ३२ मेगावाट कुलेखानी दोस्रो र १४ मेगावाट कुलेखानी तेस्रो जलविद्युत आयोजना सञ्चालनमा रहेको छ ।

शनिबार बिहान कुलेखानी जलाशय भरिएर १ हजार ५३१ मिटर पुगेको थियो । कुलेखानीमा १ हजार ५३० मिटर मात्र पानी सङ्कलन गर्ने क्षमता रहेको छ । क्षमता भन्दा बढी पानी भरिएपछि जलाशय स्वतः ओभरफ्लो हुने गर्दछ । ओभर फ्लो भएपछि कुलेखानी जलाशयको २ वटा बाँध शनिबार दिनभर ४ मिटरसम्म खोलिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us