काठमाण्डु, १३ असोज– गृह मन्त्रालयले शनिबार र आइतबार बिहान सम्मा नेपाली सेनाको हेलिकप्टरबाट बाढी, पहिरो, डुबान तथा प्राकृतिक जोखिममा परेको ११८ जनाको सकुशल उद्धार गर्न सफल भएको छ ।
आइतबार बिहानदेखि काभ्रेपलान्चोकका विभिन्न पालिकाबाट अहिलेसम्म ४० जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीलेले जानकारी दिएका छन ।
खराब मौसमका कारण शनिबार नै हेलिकप्टर त्यहाँ पठाइए पनि उद्धार गर्न असहज भएको पनि उनले जानकारी दिएका छन । काभ्रेपलान्चोकमा अहिले नेपाली सेनाका तीन वटा हेलिकप्टरले उद्धार कार्य जारी राखेको छ ।
प्रवक्ता तिवारीले गृह मन्त्रालयको अनुरोधमा विपद्को जोखिममा रहेका नागरिकहरूको उद्धारमा सेनाले लगातार हवाई उद्धार गरिरहेको जानकारी दिएका छन । त्यसैगरी शनिबार काठमाण्डु उपत्यकामा १३, सिन्धुलीमा ३३ र मकवानपुरमा ३२ जनाको हवाई उद्धार गरिएको थियो ।
गृह मन्त्रालयका प्रवक्ता तिवारीले बाढी, पहिरोका कारण अवरुद्ध राजमार्ग खुलाउन सबै संयन्त्र परिचालन गरिएको जानकारी दिएका छन । गृह मन्त्रालयको तथ्याङ्क अनुसार बाढी, पहिरो र डुबानबाट १०७ जनाको मृत्यु, ६४ जना बेपत्ता र ७३ जना घाइते भएका छन् ।
गृहमन्त्री रमेश लेखकले सुरक्षा संयन्त्र र सरोकारवाला निकायलाई उद्धार, राहत, घाइतेको स्वास्थ्य उपचार र अवरुद्ध सडक सुचारु गर्न तदारुकताका साथ लाग्न निर्देशन दिइसकेका छन् ।