भारी वर्षाको पूर्वसूचना हुँदाहुँदै पूर्वतयारी नगर्दा ठूलो मानवीय र भौतिक क्षति हुनु दुःखदः पूर्वराजा ज्ञानेन्द्र

काठमाण्डु टुडे २०८१ असोज १३ गते १०:४४ मा प्रकाशित

काठमाण्डु, १३ असोज– पूर्वराजा ज्ञानेन्द्र शाहले अरिबल वर्षासँगै बाढी, पहिरो र डुबानबाट देशका विभिन्न स्थानमा भएको जनधनको क्षतिप्रति पीडाबोध भएको बताएका छन् ।

ज्ञानेन्द्रले आइतबार एक विज्ञप्ति जारी गर्दै विपदबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख प्रकट गरेका हुन् । मृतक परिवारलाई उचित राहत, बेपत्ताहरूको खोजी तथा घाइतेहरूको शीघ्र उपचार तथा अस्तव्यस्त जनजीवनलाई सुधार गर्नेतर्फ राज्यको तदारुक प्रयत्न होस् भन्ने आग्रह गरेका छन् ।

वक्तव्यमा उनले भारी वर्षा हुँदैछ भन्ने पूर्वसूचना हुँदाहुँदै अग्रिम तत्परता र पूर्वप्रतिकार्य नएका कारण यति ठूलो मानवीय र भौतिक क्षति हुनु दुःखद कुरा भएको उल्लेख गरेका छन् ।

नेपालजस्तो पर्वतीय मुलुकमा बाढी, डुबान र भू–क्षयको जोखिम हरेक वर्ष हुने प्रक्रिया भएको भन्दै पूर्वराजाले रोकथाम र सजगताको निम्ति समयमै पर्याप्त ध्यान दिन सके क्षति न्यूनीकरणमा योगदान पुग्ने बताए ।

दशै तिहार जस्ता हाम्रा महत्त्वपूर्ण पर्वहरू निकट आइरहेको यो समयमा आवागमनका धेरै राजमार्ग र सडक सञ्जालहरू अवरुद्ध हुन गएको र त्यसबाट जनजीवनमा असुविधा पुग्न गएकोप्रति उनले आफ्नो गम्भीर चासो रहेको बताएका छन् ।

प्रकृति, परिवेश र प्रवृत्तिअनुरूप विकास प्रक्रिया अघि बढाउनुपर्ने सुझाव पूर्वाराजाले दिएका छन् । ‘आफ्नो परिवेशमाथि खेलबाड हुने बस्ती, व्यवस्था र विकास गतिविधिले विपत्ति र विनाश मात्रै निम्त्याउँदछ । त्यसमा हामी सबैको ध्यान जानुपर्दछ भन्ने हाम्रो दृष्टिकोण हो’, शाहले विज्ञप्तिमा भनेका छन्, ‘शोक, वियोग, व्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस् । विनाशको यो बेला पर्याप्त सहयोग, सुव्यवस्था, निगरानी पुगोस् भन्ने हाम्रो चाहना छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us