काठमाण्डु, १३ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गरेको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति जारी गर्दै वर्षाका कारण ज्यान गुमाएकाको परिवारलाई उचित क्षतिपूर्ति दिन, संकटमा परेका नागरिकको उद्धार, पुनःस्थापना र घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग माग गरेका छन् ।
क्षतिको विवरण संकलन गरी पीडित नागरिकलाई राहत र क्षतिपूर्ति प्रदान गर्न र क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणमा तीनै तहका सरकारको प्रभावकारी अग्रसरता देखिनुपर्ने उनको भनाइ छ ।
विपदको यस घडीमा राप्रपा सरकार र आमजनसमुदायको साथमा रहेको भन्दै उनले सबै मिलेर विपदको सामना गर्न अपिल गरे । अध्यक्ष लिङदेनले देशभरका पार्टीका सदस्यलाई
विपदसँग जुधिरहेका नागरिकको साथमा उभिन, राहत, उद्धार तथा पुनःस्थापनामा जुट्न निर्देशन दिएका छन् ।