
काठमाण्डू, १३ असोज– कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बाढीपहिरोका कारण उत्पन्न विपदपछिको अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अपराह्न १ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाइएको सिंहको निजी सचिवालयले जनाएको छ ।
भारी वर्षापछिको बाढीपहिरोबाट भएको जनधनको क्षति , उद्धार र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको उनको सचिवालयले भनेको छ ।
जलतथा मौसम विभान विभागले एक साताअघि नै भारी वर्षा र जोखिमबारे सचेत रहन पूर्वसूचना जारी गरेको थियो । तर, सरकारले पूर्वतयारी नगरेको तथा विपदमा परेकाको उद्धारमा राज्यका संयन्त्रहरुबीच तालमेल नभएको भन्दै आलोचना भइरहेको छ ।
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राहत, उद्धार र पुनर्स्थापनाबारे छलफल गर्न आजै सर्वदलीय बैठक आह्वान गरेका थिए ।
प्रचण्डले बैठक डाकेपछि नैतिक संकटमा परेको सरकारले हतारहतार सर्वदलीय बैठक बोलाएको हो । सरकारले बैठक बोलाएपछि प्रचण्डले स्थगन गरेका छन् ।
‘अध्यक्ष प्रचण्डले अविरल बर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज बिहान १० बजे बस्ने गरी हिजो राति नै सर्वदलीय बैठकको आव्हान गर्नुभएको थियो । नेपाल सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष प्रचण्डले हिजो राति नै सर्वदलीय बैठक आह्वान गरेको तर, अब सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको’, प्रचण्डको सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ ।
प्रचण्डले यसअघि शुक्रबार राज्यका निकाय, राजनीतिक दल, सामाजिक संघ संगठन, सञ्चार क्षेत्रलगायत सबैमा जनताको दुःखमा हातेमालो गर्न अपिल गरेका थिए । उनले पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई कठिन समयमा जनसेवामा जुट्न निर्देशन दिएका थिए ।