मनाङमा समय अगावै हिमपात

काठमाण्डु टुडे २०८१ असोज १२ गते २१:१२ मा प्रकाशित

मनाङ, १२ असोज– हिमाली जिल्ला मनाङमा हिमपात भएको छ ।

माथिल्लो मनाङका टङ्की, खाङ्सार, तिलिचो बेसक्याम्प, थोराङ्ला भञ्ज्याङ, नार, फुलगायत क्षेत्रमा शनिबार हिमपात भएको हो ।
हिउँ पर्ने समय नहुँदै हिमपात सुरु भएपछि चिसो बढेको छ ।

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले हिमपातका कारण माथिल्लो मनाङमा पर्यटक तथा स्थानीयको जनजीवन प्रभावित भएको बताए ।
उनकाअनुसार ङिस्याङ गाउँपालिकाको हुम्डेबाट माथिल्लो क्षेत्र र नार्पाभूमि गाउँपालिकामा हिमपात भएको छ ।

हिमपात भएपछि स्थानीय प्रशासनले पदयात्री, पर्यटक र स्थानीयलाई सडक तथा सवारीसाधनको अवस्था विश्लेषण गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ । हिमापत भएपछि पर्यटकहरु भने रमाएका छन् ।

बिहीबार साँझदेखि लगातार वर्षा हुँदा हिमपात भएको उनले जनाए । नार्पाभूमि गाउँपालिकाका सूचना अधिकारी महेश पाख्रिनले नार र फू गाउँका साथै मेता र गाउँपालिका केन्द्र च्याखुमा पनि हिमपात भइरहेको बताए । उनका अनुसार नारमा डेढ फिट र फूमा छ इन्च बाक्लो हिउँ जमेको छ ।

हिउँका कारण काङ्ला पास गर्ने पर्यटक नारमा रोकिएका छन् । हिमलुङ हिमाल चढ्न जाने पर्यटक भने अगाडि बढेका छन् ।
समय अगावै हिउँ परेपछि किसानलाई गहुँ, फापरलगायत अन्नबाली थन्क्याउन सास्ती भएको छ ।

करु काटेर खेत र छतमा सुकाएका किसान अकस्मात हिउँ परेपछि मर्कामा परेका छन् । यस्तै किसानको आलुबालीमा पनि हिउँका कारण नोक्सान भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us