बुटवल, १२ असोज– भारी वर्षासँगै घाघरा खोलामा आएको बाढीले दूध बोक्ने बलेरो जिप बगाएको छ ।
चालक र सह–चालकसहित जिप खोलामा बगेको आशंका गरिएको छ ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सम्मरीमाई गाउँपालिका–५ बाट शनिबार बिहान दूध संकलन गरी भैरहवा आउँदै गरेको भे१च २६७६ नम्बरको बोलेरो जिपसहित चालक र सह–चालक बेपत्ता भएको बताए ।
जिप गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमतर्फको घाघरा खोलाको कजवेबाट सम्पर्कविहीन भएको प्रजिअ अर्यालले बताए । जिप सर्लाहीका प्रकाश तामाङले चलाएका थिए ।
सह–चालक रूपन्देही सम्मरीमाईका उमेश लोध रहेको बुझिएको छ । प्रहरीले बिहानैदेखि खेजी गरे पनि जिप र चालक÷सह–चालकको पत्तो लागेको छैन ।
जिप खसेको आशंका गरिएको स्थानबाट ५० मिटर तल तिनाउ नदी रहेका कारण खोजीकार्य प्रभावित भएको छ । निरन्तरको वर्षातका कारण तिनाउ नदीमा बाढी आएको छ ।