काठमाण्डु, १२ असोज– निरन्तरको भारी वर्षासँगै गएको बाढीपहिरो र बुडानका कारण देशभर ६६ जनाको मृत्यु भएको छ ।
उद्धारमा सक्रिय सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले शनिबार साँझ ५ बजेसम्मको तथ्यांकअनुसार देशभर ६६ जनाको मृत्यु भएको जानकारी दिए । विपदमा परी ३५ जना घाइते भएका छन् ।
थापाका अनुसार उपत्यकाका काठमाण्डु, ललितपुर र भक्तपुरमा मात्र ३४ जनाले ज्यान गुमाएका छन् । काठमाण्डुमा ११, ललितपुरमा १८ र भक्तपुरमा ५जनाको मृत्यु भएको हो । उपत्यकाबाहेक बागमती प्रदेशका चार जिल्लामा २२ जनाको मृत्यु भएको छ । काभ्रेमा १४, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ र धादिङमा १ जनाको मृत्यु भएको हो ।
यस्तै कोशी प्रदेशमा १० जनाले ज्यान गुमाएका छन् । पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २ र सुनसरीमा १ जनाको ज्यान गएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
डिएसपी थापाका उनका अनुसार बाढीपहिरोमा परी अरु ३५ जना घाइते भएका छन् । यस्तै ७९ जना बेपत्ता छन् । बेपत्ता हुनेमा काभ्रेमा सबैभन्दा धेरै २६, ललितपुरमा १५, काठमाण्डुमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ तथा अन्य जिल्लाका केही छन् ।
सशस्त्र प्रहरीका अनुसार २ हजार १ सय ३ जनाको उद्धार गरिएको छ । कोसी प्रदेशमा १ सय ५२, मधेशमा १०, उपत्यकामा २ र बागमती प्रदेशमा ३१ गरी कूल १ सय ९५ भन्दा बढी घरमा क्षति पुगेको छ । सशस्त्र प्रहरीले उद्दारका लागि उपत्यकामा २३ वटा डुंगा र गोताखोरसहितको टोली ९० स्थानमा परिचालन गरेको छ ।
यस्तै नेपाली सेना र नेपाल प्रहरीले पनि उद्धारका लागि ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ । सेनाले हेलिकोप्टरमार्फत कुसुन्ती ललितपुरका फरकफरक स्थानमा बाढीमा फसेका ९ जनाको सकुशल उद्धार गरेको थियो ।