नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा आइतबारसम्म गाडी चलाउन रोक

काठमाण्डु टुडे २०८१ असोज १२ गते १९:२१ मा प्रकाशित

चितवन, १२ असोज– भारी वर्षाका कारण हुनसक्ने सम्भावित क्षतिलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार एक सूचना जारी गर्दै आइतबार बिहान ५ बजेसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।

प्रशासकीय अधिकृत अन्तिम सिञ्जालीद्धारा जारी सूचनामा सो सडक खण्डमा पहिरोको जोखिम कायमै रहेको हुँदा हाललाई सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको हो ।

सूचनामा भनिएको छ, ‘सवारी धनी एवं यात्रु मानुभावहरुलाई सो सडकखण्ड हुँदै सवारी नचलाइदिन हुन तथा यात्रा नगरी यथास्थानमा नै बसी सुरक्षित रहनुहुन अनुरोध छ ।’

शुक्रबार काठमाण्डुतर्फ जाँदै गरेका सवारी साधन मौसम प्रतिकूलताका कारण आइतबारसम्म आँपटारीमा नै रोकिनुपर्ने अवस्था भएको भन्दै सूचनामा यात्रुलाई धैर्यधारण गरी बस्न अनुरोध गरिएको छ ।

अत्यावश्यक कामबाहेक नदी तटीय क्षेत्रमा नजान जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयले शुक्रबार मात्रै रातको समयमा सो सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाएको थियो ।

विपद्जन्य घटना भए प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us