अमेरिकाबाट फेसबुकमार्फत ओलीले भनेः मौसमविदले पानी भोलि दिउँसो मात्र रोकिन्छ भनेका छन्, म पनि फर्कने तयारी छु

काठमाण्डु टुडे २०८१ असोज १२ गते १८:४२ मा प्रकाशित

काठमाण्डु, १२ असोज– संयुक्त राष्ट्रसंघको ७९औं महासभाका दौरान अमेरिकामा रहेका प्रधानमन्त्री केपी ओलीले निरन्तरको वर्षातसँगै आएको बाढी, पहिरो तथा डुवानका कारण निम्तिएको विपदको अवस्थामा उद्धारका लागि सहकार्य गर्न आग्रह गरेका छन् ।

उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी कार्यक्षेत्रमा खटिएको ओलीले बताए । ओलीले विपद्को उद्धारका लागि सुरक्षा निकायलाई सम्पर्क गर्ने नम्बरहरू सार्वजनिक गरिएको भन्दै तोकिएका नम्बरमा सुरक्षाकर्मीलाई सम्पर्क गर्न र उनीहरुलाई सहयोग गर्न सबैलाई आग्रह गरे ।

‘बाढी पहिरोको प्रभावमा परेको ठाउँको सूचना तत्काल सुरक्षाकर्मीसम्म पुर्याउन मद्दत गरौं’, ओलीले भने । वर्षाले क्षति पुर्याउन सुरु गर्नासाथ कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल लगायतसँग उद्धारका विषयमा समन्वय गरिएको ओलीले बताए । सोही योजनाअनुसार सरकारले देशैभर हजारौं उद्धारकर्मी तैनाथ गरेको उनको भनाइ थियो ।

मौसमविद्सँग केहीबेरअघि बुझेअनुसार वर्षा पूर्ण रूपमा रोकिन भोलि दिउँसोसम्म लाग्ने जानकारी उनले दिए ।

ओलीले संयुक्त राष्ट्रसंघको महासभामा लगायतका कार्यक्रम सकेर स्वदेश फर्किने तयारीमा रहेको भन्दै विपद्को बेला हातेमालो गरेर उद्धारमा सहयोग गर्न अपिल गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us