गोरखा, १२ असोज– निरन्तरको भारी वर्षासँगै त्रिशूली नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएको छ ।
गोरखाको शहीद लखन गाउँपालिका–४, ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित कुरिनटार जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको हो ।
बाढीले पुलको गोरखातर्फको पिल्लरको भाग उप्काएर बगाएको प्रहरीले जनाएको छ । सोही नदीमा आएको बाढीका कारण थप तीनवटा पुल बाढीको उच्च जोखिममा परेको श्रेष्ठको भनाइ थियो ।
बाढीका कारण गोरखाको शहीद लखन–३, सिलिङ्ग र चितवनको कुरिनटार जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा परेको छ ।
गोरखाको गण्डकी गाउँपालिका–७ धवादीघाट र धादिङ्गको बेनीघाट रोराङ्ग गाउँपालिका–६ स्थित हिक्लुङ्गमा रहेको झोलुङ्गे पुल पनि बाढीको जोखिममा परेको गोरखा प्रहरीका सूचना अधिकारी डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
त्रिशुलीमाथिका सबै पुलबाट मानिस आवतजावतमा रोक लगाइएको छ ।