काठमाण्डु, ११ असोज– अविरल र लगातारको वर्षाका कारण पहिरोको जोखिम उच्च रहेको भन्दै आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक्का गरीएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले बिहानैदेखि पानी परिरहेको र रातिमा पनि पानी पर्न सक्ने देखिएकोले मानवीय तथा भौतिक क्षति नहोस् भनेर रातको समयमा कुनै पनि सवारी चलाउन नदिने निर्णय भएको छ ।
आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक्ने निर्णय भएको समितिका संयोजक तथा चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन ।
अत्यावश्यक सवारी भने सञ्चालन हुने उनले जानकारी दिएका छन । नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने जानकारी दिए । शुक्रबार दिनभर खासै सडकखण्ड अवरुद्ध नभए पनि सम्भावित जोखिम भने छ ।
गत असार २८ गते राति यही सडकखण्डको सिमलतालमा रातिमा पहिरोले बस बगाउँदा ६२ जनाको मृत्यु भएको थियो ।