काठमाण्डु, ११ असोज– बैतडीमा दसैं मनाउन भारतबाट घर फर्किने क्रममा महाकाली नदीमा खसेर एक युवक बेपत्ता भएका छन । बेपत्ता हुनेमा पुर्चौडी नगरपालिका– पुर्चौडी–५ कुवाकोटका ३३ वर्षीय अमर धामी रहेको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले जानकारी दिएका छन ।
भारातबाट घर फर्किरहेका धामी शुक्रबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका–८ को झुलाघाट बजार नजिकै सडकबाट महाकाली नदीमा खसेको खबर प्रप्त भएको उनले जानकारी दिएका छन ।
झुलाघाटबाट बैतडी सदरमुकामतर्फ आउने जिप पार्किङ हुने क्षेत्रमा हिँडिरहेको अवस्थामा चिप्लिएर महाकाली खसेको उनले जानकारी दिएका छन । नदीमा खसेर बेपत्ता भएका धामीको खोजी कार्य भइरहेको छ ।
धामी खसेको ठाउँमा सडक माथिबाट पहिरो समेत खसेका कारण जोखिम रहेको प्रहरीले जानकारी दिएको छ । नदीमा बेपत्ता धामीको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ तर उनको अवस्था अहिलेसम्म अज्ञात रहेको पनि प्रहरीले जानकारी दिएको छ ।
भारतमा रोजगारी गर्दै आएका धामी दसैं मनाउन घर फर्किरहेका थिए ।