झापामा अत्यधिक वर्षा

काठमाण्डु टुडे २०८१ असोज ११ गते १४:२४ मा प्रकाशित

काठमाण्डु, ११ असोज– झापामा अत्यधिक वर्षा भएपछि जिल्ला प्रशासन कार्यलय झापा अलर्टमा बसेको छ । अविरल वर्षाले नदी तथा खोलाहरुमा बहाव बढेपछि डुबान हुनसक्ने सम्भावित क्षेत्रमा सतर्कता अपनाइएको हो ।

प्रहरी प्रशासन अलर्टमा रहेको झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिएका छन । शिवसताक्षी नगरपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका डुबान भइरहने स्थानमा सतर्कता अपनाइएको बास्तालाले जानकारी दिएका छन ।

उनले भने, ‘पानी निरन्तर परिरहेको छ । त्यसले गर्दा कन्काइमा बाढीको बहाव उच्च भएको छ, अझै केही समय यस्तै पानी परिरह्यो भने क्षति पुग्न सक्छ ।’ त्यसैले सुरक्षाकर्मी, जनप्रतिनिधि लगायतलाई सतर्क रहन भनिएको उनले बताए ।

उनका अनुसार स्थानीयलाई उद्धार गर्नुपर्ने भएमा गाउँ–गाउँमा अस्थायी आश्रयस्थल समेत पहिचान गरी तयारी अवस्थामा राखिएको छ । ‘उद्धार गर्नुपर्ने अवस्था आएमा कतै विद्यालय, कतै धर्मशालाहरुमा राख्ने गरी तयारी गरिएको छ,’ प्रजिअ बास्तोलाले भने ।

नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यो समाचार तयार पार्दासम्म २० स्थानका वर्षा मापन केन्द्रमा खतराको तहसम्म पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us