काठमाण्डु, १० असोज– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन धेरै दिन नटिक्ने ठोकुवा गरेका छन् ।
पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन उदघाटन गर्दै बिहीबार उनले सत्तारुढ गठबन्धन धेरै नटिक्ने बताएका हुन् । दलाल पुँजीपतिहरुको राइँदाइँमाथि प्रतिपक्षले सडक र सदन दुवैतिरबाट जेहाद छेडेकाले उनीहरु संकटमा परिसकेको दाबी उनको थियो । उनले केही महिनामै परिस्थिति उल्ट्याीदिन सक्ने तागत आफूहरुसँग रहेको बताए । यद्यपि सरकारमा जाने हतारोमा भने आफूहरु नरहेको उनको भनाइ थियो । ‘हामी अहिले सरकार बनाउने हतारोमा छैनौं । तिमीहरु मिलेर बस भनेका छौं’, उनले भने, ‘हामीले चाहँदैमा उनीहरु मिल्दैनन् । अपवित्र गठबन्धन चाँडै कुहिएर झर्छ ।’
संसदका पहिलो र दोश्रो दल मिलेर संविधान संशोधनका नाममा जनताले संघर्षकाट प्राप्त गरेका उपलब्धी खोस्ने दुस्साहस गरे प्रतिरोध गर्ने चेतावनी दिए । प्रचण्डले सम्भावित प्रतिरोधका लागि तयार रहन विद्यार्थीहरुलाई अपिल पनि गरे ।