काठमाण्डु, २७ भदौ– आजदेखि तीन दिनसम्म अति भारी वर्षा हुने भएको छ ।
मनसुन सकिनै लाग्दा अति भारी वर्षा हुन लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिम नेपालमा अति भारी वर्षा र बाँकी भेगमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाकी मौसमविद शान्ति कँडेलले जानकारी दिइन् । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ ।
तर, भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यूनचापीय प्रणाली थप विकसित भई उत्तर–पश्चिम सर्ने सम्भावना छ ।
महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै बिहीबार साँझदेखि शनिबार बिहानसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको चेतावनी महाशाखाले दिएको छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ। महाशाखाले सुदूरपश्चिमका ६ जिल्लामा रेड अलर्टसमेत जारी गरेको छ ।
बुधबार राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम भएको छ ।
बिहाननैदेखि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूपरश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाले बताएको छ ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूपरश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बिहीबार दिउँसो सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरुमा आंशिकदेखि साधारणतया बदली रहने छ ।