काँग्रेस–एमालेले पहिल्यै जनयुद्ध स्वीकार गरिसकेका हुन्ः पौडेल

काठमाण्डु टुडे २०८१ भदौ २६ गते १५:३५ मा प्रकाशित

काठमाण्डु, २६ भदौ– नेकपा माओवादी केन्द्रले आफ्नो नेतृत्वमा भएको १० वर्षे सशस्त्र जनयुद्ध काँग्रेस र एमालेले पहिल्यै स्वीकार गरिसकेको भन्दै हिंसा शब्द प्रयोग गर्नु असंवैधानिक भएको बताएको छ ।

प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले बुधबार १२ भदौको बैठकमा एमाले सांसद योगेश भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय नभएको रुलिङ गरेपछि माओवादी सांसदहरु आफ्नो आसनबाट उठेका थिए । त्यसपछि सभामुख घिमिरेले सांसद देवेन्द्र पौडेललाई बोल्न समय दिए ।
सांसद पौठडेलले आफूहरु सदनको वातावरण अनावश्यक रुपमा उत्तेजित बनाउन नचाहेको बताए । देशका रानजीतिक आन्दोलन, जेलनेल भोगेर आएका दलका नेता र सांसदहरुले संविधान मान्नुपर्ने उल्लेख गरे ।
पौडेलले तत्कालीन नेकपा माओवादी र ७ रानजीतिक दलबीचको १२ बुँदे सहमति, शान्ति प्रक्रिया, अन्तरिम संविधान तथा ०७२ को संविधानजस्ता कुनै पनि दस्तावेजमा माओवादी जनयुद्धलाई हिंसा शब्दले सम्बोधन नगरिएको बताए ।
उनले संविधानको प्रस्तावनामा ‘राष्ट्रहित, लोकतन्त्र, अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटकपटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण बलिदानको स्मरण गर्दै शदीहरु बेपत्ता र पीडित नागरिकहरुलाइ सम्मान गर्दै’ भनेर लेखिएको बताए । उनले सभामुख घिमिरेलाई संविधानको कुन धारा र उपधारामा माओवादी जनयुद्धलाई हिंसा भनेर कुन ठाउँमा लेखिएको छ भन्ने प्रश्न गरे ।

‘हिजो हामीेले निमिट्यान्न पारेका प्रणालीहरु सेना समायोजन गरिसक्यो । अस्ति मात्र टीआरसी सहमतिका अरमा अगाडि बढायौं । हतियार व्यवस्थापन गरिसक्यौं । आज माननीयहरुले हिजोको त्यो प्रक्रियालाई हिंसा भनेर शान्ति प्रक्रियालाई बिथोल्न खेज्नुभएको हो ?’, पौडेलले प्रश्न गरे, ‘१० वटा देशहरुले स्वागत गरिसके टीआरसीलाई । अन्तर्राष्ट्रिय समुदायले मान्यता दिइसक्यो । तर, मानानीयहरु हिंसा भनेर सदनमा चिच्याइरहनुभएको छ । माननीय ज्यूहरुलाई अनुरोध छ, यो प्रकारको विगतलाई बल्झाएर शान्ति प्रक्रियालाई बिथोल्ने काममा माननीयहरुका शब्दहरु प्रयोगमा नआओस् ।’

पौडेलले संविधानसँग नमिल्ने शब्दले इतिहासको खास कालखण्डमा अगाडि बढाइएको राजनीतिक अन्दोलनप्रतिको अपमान हुने उल्लेख गरे । ‘तपाईंहरुले जनयुद्ध नमान्नुहोला । तर तपाईंहरुले राजनीतिक आन्दोलन भने स्वीकार गरेर आउनुभएको हो नि ? तपाईंहरुले यो आन्दोलनलाई सशस्त्र संघष भनेर स्वीकार गरेर हस्ताक्षर गरेर आउनुभएको हो नि ? हामी मान्नुस भनेर बाध्यकारी पार्दैनौं, हामी मान्छौं’, पौडेलले भने, ‘संविधान प्रतिकूल हुने शब्दहरु जसरी यहाँ प्रकट भएका छन् ती शब्दहरुका बारेमा सभामुखले सुनाउनुभएको शब्दप्रति हाम्रो गम्भीर आपत्ति छ । फेरि पनि भन्न चाहन्छु त्यो शब्द सच्याइयोस् । र शान्ति प्रक्रियामा बिथोल्ने । भाँडभैलो पार्ने शब्द, शैली र तरिका प्रयोग नगर्न अनुरोध गर्न चाहन्छु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us