काठमाण्डु, २६ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले उपसभामुख इन्दिरा रानामगरका कारण नेपालीको शिर झुकेको भन्ने सत्तारुढ काँग्रेसको संस्थागत निस्कर्षप्रति आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभा बैठकमा बुधबार बोल्दै झाले उपसभामुखले नबुझेर अमेरिका भ्रमणमा जान लागेकाहरुको भिसा प्रक्रिया सहजीकरणका लागि काठमाण्डुस्थित अमेरिकी दूतावासलाई पत्राचार गरेको विषय नचर्काउन आग्रह गरे ।
‘नेपाली काँग्रेसले उपसभामुखका कारण नेपालीको शिर झुकेको भन्ने निस्कर्ष निकालेछ’, झाले भने, ‘नेपालीको शिर त्यतिबेला झुकेन जब नेपालीलाई भुटानी बनाएर विदेश पठाइयो ? नेपालीको शिर जतिबेला झुकेन ? एउटा मन्त्रीले सरकारी जग्गा भाडामा लिएर भाडा नतिर्दा शिर झुकेन ? ।’
भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री काँग्रेस नेता बालकृष्ण खाँड पक्राउ परेका थिए । वर्तमान ऊर्जामन्त्री दीपक खड्कामाथि लैनचौरस्थित नेपाल रेडक्रस सोसाइटीको जग्गा भाडामा लिएर रकम नतिरेको आरोप लाग्दै आएको छ ।
असम्बन्धित व्यक्तिहरुलाई अमेरिकी भिसा सिफारिस गरेर पदीय आचरणविपरीत कार्य गरेको भन्दै उपसभामुख रानालाई अविश्वास प्रस्तावमार्फत हटाउने तयारी सत्तारुढ दलहरुको छ ।
काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले रानालाई राजीनामा दिएर मार्गप्रसस्त गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।