काठमाण्डु, २६ भदौ– उपसामुख इन्दिरा राना मगरले राजीनामा नदिने भएकी छन् ।
सत्तापक्षले संख्याको बलमा हटाए सामना गर्ने उनको पूर्वदल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनाएको छ । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानाले राजीनामा नदिने स्पष्ट गरे ।
सत्तारुढ एमाले सांसदले मंगलबारको प्रतिनिधिसभा बैठकमा गम्भीर आरचणको प्रश्न उठेकाले राजीनामा दिएर मार्ग प्रसस्त गर्न उपसभामुख रानालाई आग्रह गरेका थिए ।
सोमबार बालुवाटारमा बसेको सत्ताघटक दलका शीर्ष नेताको बैठकले राजीनामाका लागि आग्रह गर्ने र नदिए अविस्वास प्रस्तावमार्फत हटाउने निर्णय गरेको थियो ।
अमेरिकामा हुने एक कार्यक्रमका लागि असम्बन्धित व्यक्तिहरुलाई भिसा प्रीक्रया छिटो गरिदिन उपसभामुख रानाले काठमाण्डुस्थित अमेरिकी दूतावासलाई पत्राचार गरेको र सो पदीय आचरणविपरीत रहेको भन्दै सत्तापक्षले उनलाई हटाउन लागेको हो ।
परियारले संख्याको बलमा प्रतिपक्षलाई हेप्ने शैलीमा सरकार अघि बढेको र भविष्यमा यस्ता व्यवहार सत्ता पक्षका लागि दुर्भाग्यपूर्ण हुने चेतावनी दिए ।
‘संख्याको बलमा गरिने यस्तो हर्कत लोकतन्त्रमा सुहाउँदो होइन’, परियारले भने, ‘उपसभामुखले राजीनामा दिनुहुन्न हामी सामना गरेर अघि बढ्छौं ।’