काठमाण्डु, २२ भदौ– प्रहरीले सिराहाबाट करिब दुई क्विन्टल गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । सिराहाको कर्जन्हा नगरपालिका १० स्कुल टोलबाट दुई सय १७ किलो गाँजा र एकजना भारतीय नागरिकसहित तीन जनालाई शुक्रवार अपराह्न पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
गोप्य सूचनाको आधारमा प्रहरी चौकी कर्जन्हा र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले स्थानीय ४५ वर्षीय बिहारी मुखियाको गोठबाट सो गाँजा बरामद गरिएको हो ।
प्लास्टिकको १४ वटा पोका बनाइ राखिएको अवस्थामा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिएका छन ।
प्रहरीले गाँजा ओसारपसारको आशङ्कामा भारतको विहार राज्य, मधुबनी बलरा थाना १२ नम्बर वडाका २१ वर्षीय किसुन मुखिया, मकवानपुर मनहरी गाउँपालिका ९ का ६२ वर्षीय खडकबहादुर तामाङ र स्थानीय ४० वर्षीया चानोदेबी मुखियालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिएका छन ।