नवलपरासीमा बसको ठक्करबाट २ जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ २२ गते १४:४५ मा प्रकाशित

काठमाण्डु, २२ भदौ– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते भएकी महिलाको पनि मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैंडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना–७ ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गैंडाकोट–११ का सात वर्षीय विशाल श्रेष्ठको घटनास्थलमा मृत्यु भएको थियो । बालककी मामाघरकी हजुरआमा स्याङ्जाकी ५५ वर्षीय श्रीमाया मानन्धर गम्भीर घाइते भएकी थिइन ।

घाइते श्रीमायाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिएका छन । ठक्कर दिने सवारीसाधन र चालक प्रहरी नियन्त्रण लिएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us