एकै नम्बरका पाँचवटा मोटरसाइकल सहित २ जना पक्राउ

काठमाण्डु टुडे २०८१ भदौ २१ गते १८:३१ मा प्रकाशित

काठमाण्डु, २१ भदौ– चोरिएका सवारी साधनहरुको खोजतलास गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले छुट्टै टोली परिचालन गर्दै आएको छ । सोहीअनुसार टोलीले काठमाण्डु महानगरपालिका ३१ स्थित मध्य बानेश्‍वरबाट मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । शंकास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको नयाँ मोडलको ३५० सिसिको बुलेट मोटरसाइकल चलाइरहेका अछाम जिल्ला चौरपाटी गाउँपालिका २ घर भई कोटेश्वर बस्ने बर्ष २८ को हिमाल खत्रीलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

खत्रीसँग बरामद भएको बुलेट मोटरसाईकल नेपालमा दर्ता नभएको जानकारी पश्चात थप अनुसन्धान गर्दै जाँदा एकै नम्बर प्लेटका पाँच वटा मोटरसाइकल फेला परेको छ । टोलीले मध्यबानेश्‍वर बस्दै आएका अछाम चौरपाटी गाउँपालिका २ घर भएका २५ वर्षीय प्रमोद कुँवरलाई समेत से ७ प ८५६२ नम्बरको ३५० सिसिको खैरो रंगको बुलेट मोटरसाईकल सहित नियन्त्रणमा लिएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्‍वराज खड्काले जानकारी दिएका छन ।

वास्तविक नम्बर बागमती प्रदेश ०२–०४७ प १९७५ रहेको उक्त मोटरसाइकल काठमाण्डु स्थित रानीबारीबाट गत श्रावण २८ गते हराएको भनि रानीबारी बस्ने रुपन्देहीका अनुज पाण्डेले काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । सोधपुछका क्रममा से ७ प ८५६२ नम्बर भएको अर्को मोटरसाइकल समेत रहेको चोरीमा संलग्न कुँवरबाट खुलेपछि गाडा निलो रंगको १५० सिसिको एफ.जेड.एस. मोटरसाइकल समेत छाउनीबाट नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको क्रममा वास्तविक नम्बर बागमती प्रदेश ०२–०३८ प ९२५३ रहेको उक्त मोटरसाइकल काडाँघारी बस्ने ओखलढुंगाका उत्तम कुमार पराजुलीको रहेको खुल्न आएको छ ।

उक्त मोटरसाईकल ललितपुरको बालकुमारी क्षेत्रबाट गत वर्ष असोजमा हराएको थियो । थप अनुसन्धान एवं कारबाहीका लागि चोरीमा संलग्न कुँवरलाई बरामद भएका मोटरसाईकल सहित प्रहरी वृत्त लैनचौरमा र नेपालमा दर्ता नगरि भन्सार छलेको आशंकामा बुलेट मोटरसाइकल सहित खत्रीलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको प्रवक्ता खड्काले जानकारी दिएका छन ।

अनुसन्धान गर्दै जाँदा करिव एकमहिना अगाडी से ७ प ८५६२ नम्बर प्लेट भएको कालो रंगको यामाहा कम्पनीको १५५ सिसिको एमटी १५ बेबारिसे अबस्थामा फेलापारि प्रहरी बृत्त सिंहदरवारको नियन्त्रणमा रहेको तथ्य खुलेको उनले बताए । बास्तबिक नम्बर बा।प्र।०२–०२२ प ५०७८ भएको उक्त मोटरसाईकल बागबजार बस्ने हितेश तण्डुकारले सिफल एरियाबाट हराएको भनी ट्राफिक प्रहरीमा निवेदन दिएको खुलेको प्रहरीले जानकारी दिएको छ ।

थप सूचनाको आधारमा नियन्त्रणमा लिएको बास्तबिक नम्बर से ७ प ८५६२ भएको गाडा निलो रंगको १५० सिसिको एफ.जेड.एस. भने भन्सार कार्यालय पठाइएकोमा उक्त मोटरसाइकल खत्रीको रहेको तथ्य समेत खुलेको थियो । उक्त मोटरसाईकलको बास्तबिक ब्लुबुकलाई प्रयोग गरि अन्य मोटरसाईकल समेत प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us