सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा लगिन्छ, द्वन्द्वकालीन घटनाको पुनरावृत्ति हुन दिइँदैनः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ भदौ २१ गते १८:१५ मा प्रकाशित

काठमाण्डु, २१ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः स्थापित शान्ति प्रक्रियालाई दिगो बनाउँदै द्वन्द्वकालीन घटनाको पुनरावृत्ति हुन नदिने तर्फ वर्तमान सरकार स्पष्ट रहेको बताएका छन । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा आज नेपाल समाजवादी पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको प्रमण्डलको १९ बुँदे ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

उनले नेपाली जनतालाई जातीय आधारमा विभाजित गरेर र सामाजिक रूपमा घृणा÷द्वेष फैलाएर राष्ट्रिय एकतालाई कमजोर पार्ने प्रयास सफल नहुने पनि दाबी गरेका छन । उनले भने, ‘जनताले उहिल्यै फाल्नुपर्ने राजतन्त्र आफ्नो रगतसँग साटेर बल्ल फालेका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ ।

यो व्यवस्थालाई सबल तुल्याएर जनताको विकास, समृद्धि र स्थायित्वको चाहना पूरा गर्नु छ । त्यसकारण अहिले कुनै अराजकताले ठाउँ पाउने वा सत्ता समीकरणमा यताउता हुने सम्भावना छैन ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले भने, ‘कम्तीमा म प्रधानमन्त्री र एमालेको अध्यक्ष रहुन्जेल अहिले चर्चामा ल्याइए जस्तो नेपालमा बङ्गलादेश वा श्रीलङ्कामा भएका जस्ता घटना हुने स्थिति हुँदैनन् ।

मेरो अबको २२ महिने कार्यकालभित्र सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा लाने गरी काम गरिन्छ ।’ प्रधानमन्त्री ओलीले आफू पहिलेदेखि नै इमानदार रूपमा शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा लाग्न लागिपरेको र अहिले पनि थप पहल गरेर सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक पारित गर्दा पीडितलाई केन्द्रमा राखेर राजनीतिक सहमति जुटेको जानकारी दिएका छन ।

उनले आफू सशस्त्र द्वन्द्वकालमा सत्ता पक्ष वा विद्रोही पक्षमा नरहेकाले निष्पक्ष भएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा लाने अठोटमा रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विना आशङ्का यस प्रक्रियामा साथ दिनुपर्ने भनाइ राखे ।

अध्यक्ष दाहालले हालै प्रतिनिधिसभामा असंसदीय, असभ्य र लाञ्छनायुक्त अभिव्यक्ति दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफ्नो ध्यान भने जसरी पनि पीडितलाई न्याय दिने र मुलुकमा समृद्धि ल्याउनेमा रहेको बताएका छन । संयोजक डा.भट्टराईले दुई ठुला दलको सरकार बनेकाले सङ्क्रमणकालीन न्याय टुङ्गोमा लाने अवसर भएकाले यसमा आफूहरूको साथ रहने अवगत गराए ।

सो अवसरमा उक्त पार्टीले ती विधेयकहरू पारित भएकामा स्वागत गर्दै आगामी प्रक्रियामा बृहत् सहमतिका साथ सत्यको अन्वेषण गर्न आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us