निजी अस्पतालले पनि बीमाको सुविधा दिने व्यवस्था गर्दैछौँ: मन्त्री पौडेल

काठमाण्डु टुडे २०८१ भदौ २१ गते १६:२९ मा प्रकाशित

काठमाण्डु, २१ भदौ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालहरूले पनि बीमाको सुविधा दिनुपर्ने बताएका छन । आज शुक्रबार एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन ।

उनले निजी अस्पतालहरूले पनि बीमाको सुविधा दिने व्यवस्था गर्न लागिएको बताएका छन । मन्त्री पौडेलले सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्थाको अन्त्य गर्दै सबै अस्पतालहरूमा बीमा सुविधा हुनुपर्ने बताएका छन । उनले त्यसको लागि बीमा बोर्ड शक्तिशाली हुनुपर्ने पनि बताएका छन ।

उनले नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्ने पनि बताएका छन । कार्यान्वयन र नियमन एउटै निकायले गर्दा बीमा व्यवस्थित गर्न नसकिने बताएका छन ।

उनले भने, ‘अब सरकारी अस्पतालमा मात्रै बीमाको सुविधा लिन पाइने । निजीमा नपाइने भन्ने हुँदैन । शुल्क तलमाथि भयो भने उपभोक्ताले रोज्ने कुरा भयो । निजीमा महँगो हुन्छ, मेरो बीमाको पैसा धेरै जान्छ । सरकारीमा कम हुन्छ मेरो बीमाको पैसाले अलि धेरै काम गर्छ भन्ने भयो भने त्यो सरकारीतिरै जान्छ । शुल्क समान भयो भने निजीलाई नदिनुपर्ने के कारण छ ?

बीमा बोर्डले सरकारी र निजी अस्पतालहरूमा आफ्ना नागरिकलाई सेवा दिलाउनका लागि ती अस्पतालहरूमा स्वास्थ्य सेवा किनेको हो ।’ मन्त्री पौडेलले १० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गर्ने कुरालाई पारदर्शी बनाएर देखाउन निजी अस्पतालहरूलाई आग्रह गरे । उनले हरेक दिन के–कति विपन्न नागरिकको उपचार भयो भन्नेकुरा बेलुका सार्वजनिक गर्न आग्रह गरेका छन ।

उनले विपन्न नागरिकलाई कसैको सिफारिसमा भन्दापनि नीति बनाएर सोही अनुरूप पारदर्शी ढंगले सेवा दिनुपर्ने बताएका छन । मन्त्री पौडेलले बीमा कार्यान्वयनमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने पनि बताएका छन । उनले बीमाको स्रोत सुनिश्चितता गर्ने, फेक क्लेम हुन नसक्ने र अनियमितता गर्न नसक्ने गरी व्यवस्थापन गर्नुपर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us