काठमाण्डु, २० भदौ– एमालेका नेताहरूले पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन ।
काठमाण्डु उपत्यकाका नदी किनारमा मापदण्ड थप गरिएको विषयमा ध्यानाकर्षण गराउँदै हिँडेको एमाले काठमाण्डु जिल्ला अध्यक्षसहितको टोलीले बिहीबार अध्यक्ष प्रचण्डलाई भेटेको हो ।
सर्वोच्च अदालतले काठमाण्डु उपत्यकाको बागमती नदी र यसका सहायक नदीमा थप २० मिटर मापदण्ड छोडेर खोलको बहाव क्षेत्र किटान गर्न परमादेश दिएपछि एमाले आन्दोलित भएको छ ।
एमालेले अदालतको यो फैसलाको न्यायिक पुनरावलोकनको माग गर्दै आएको छ । यसै विषयमा बिहीबार प्रचण्डलाई एमाले बागमती इन्चार्ज राजन भट्टराई, जिल्ला अध्यक्ष दीपक निरौला सहितको टोलीले भेटेको हो ।
भेटमा अध्यक्ष प्रचण्डले जनसरोकारका विषयमा माओवादी केन्द्रले साथ दिने बताएको एमाले स्थायी कमिटी सदस्यसमेत रहेका भट्टराईले जानकारी दिएका छन ।
उनले भने, ‘अदालतको फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरवलोकनमा जानुपर्ने विषयमा सहमति जनाउँदै माओवादी केन्द्रले यस किसिमको जनसरोकारको विषयमा आफ्नो दलबाट औपचारिक निर्णय हुने र सरकारले भ्याकेटमा जाँदा आफ्नो दलको समर्थन रहने कुरा बताउनुभयो ।’
एमाले नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर न्यायिक पुनरवलोकनमा जान ध्यानाकर्षण समेत गराइसकेका छन ।