काठमाण्डु, २० भदौ– पाल्पाको माथागढीस्थित तिनाउ खोलामा एक जना व्यक्तिको शव फेला परेको छ । माथागढी गाउँपालिका–३ बेलाटारीस्थित तिनाउ खोलामा ५६ वर्षीय मानबहादुर कुमाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार मृत भेटिएका कुमाल तानसेन नगरपालिका–९ मा बसोबास गर्दै आएका थिए ।
बुधबार दिउँसो सवा १२ बजेतिर स्थानीयले खोलामा मानिसको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले उक्त शव कुमालको रहेको पुष्टि गरीएको उनले जानकारी दिए ।
प्रहरीले प्रारम्भिक अनुसन्धानपश्चात कुमालको शवलाई पोष्टमर्टमका लागि जिल्ला अस्पताल पाल्पामा पठाई घटना सम्बन्धी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।