उदयपुरमा आमा छोराको हत्या

काठमाण्डु टुडे २०८१ भदौ २० गते १३:१७ मा प्रकाशित

काठमाण्डु, २० भदौ– उदयपुरको कटारी नगरपालिका–१०, सोरुङ छबीसेमा आमा छोराको हत्या भएको छ । वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका छोरा अन्दाजी ६ वर्षीय छोरा आरुष थापाको आज बिहान पसलमै शव फेला परेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जानकारी दिएको छ । वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकहरुले आमाछोराको शव देखेका थिए ।

वडाध्यक्ष खड्काले भने, ‘आमाको शव भूइँमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा फेला परको हो, ‘छोराको शवमा हतियार प्रहार गरेको चोटहरु देखिएको जानकारी आएको छ ।’

ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरिक्षक उमेश महतोले बिहानै घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थल तर्फ पठाइसकेको बताए । प्रहरी निरिक्षक महतोले भने, ‘प्रहरी घटनास्थल पुग्नै लागेको छ । पुग्ने बित्तिकै अनुसन्धान सुरु गर्छौं ।’ घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तरपहाडी भेगमा पर्दछ ।

वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान अशोक थापा दुईवर्ष अघि कान्छी श्रीमती लिएर भारततिर गएका थिए । उनले भने, ‘तीनसय मिटर पर मुल घर थियो गएरातिचाहिँ पसलमै बास बसेका रहेछन्, त्यही बेला घटना घटेछ ।’ स्थानीय दिपक राउतले बुधबार साँझ ८ बजेसम्म मुल घरको देवरहरुसँग मृतक निर्मलाको फोनमा कुरा भएको जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us