हेटौंडा उपमहानगरको कार्यपालिका बैठक कांग्रेसद्धारा बहिष्कार

काठमाण्डु टुडे २०८१ भदौ २० गते १३:१० मा प्रकाशित

काठमाण्डु, २० भदौ– कर समायोजनको लागि विशेष नगरसभाको मिति तोक्न आज बोलाइएको हेटौंडा उपमहानगरको कार्यपालिका बैठक कांग्रेसले बहिष्कार गरेका छन । कांग्रेसबाट निर्वाचित उपमेयर राजेश बानियाँसहित ८ जना वडाध्यक्षले बहिष्कार गरेपछि मेयर मीनाकुमारी लामाले कार्यपालिका बैठक नै स्थगित गरेकी छन ।

उपमेयर बानियाँ राजश्व परामर्श समितिको संयोजकसमेत रहेकी छन । २९ सदस्यीय कार्यपालिकामा आज बिहीबार बिहान ८ बजेलाई तय भएको बैठकमा १६ जना सदस्य उपस्थित रहेका थिए । कांग्रेसबाट निर्वाचित एक वडा अध्यक्षले पार्टीमा कर समायोजनको विषयमा छलफल जारी रहेकाले आज बोलाइएको बैठकमा उपस्थित नभएको जानकारी दिएका छन ।

करको दर घटाउने विषयमा आवश्यक छलफलबाट मात्रै टुंगिने उनले बताएका छन । बहुमत पुग्दा पनि मेयर लामाले एक पक्षीय रूपमा बैठक स्थगित गरेको भन्दै विशेष नगरसभा माग गरेका नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्षहरूले आपत्ति व्यक्त गरेका छन । हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलले उपमेयरसँग छलफल गरेर मात्रै अर्को बैठक तय गर्ने बताएर मेयरले एकपक्षीय तरिकाले बैठक स्थगित भएको जानकारी दिएका छन ।

हेटौंडा–१ का वडाध्यक्षसमेत रहेका उपमहानगरका प्रवक्ता सविन न्यौपानेले उपमेयरसहित कांग्रेसका र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित एक जना गरी १० जना वडा अध्यक्षहरू बैठकमा उपस्थित नभएको जानकारी दिएका छन । उनले अर्को बैठक बोलाएर विशेष नगर सभा बोलाउनेबारे छलफल भइरहेको पनि बताएका छन ।

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा साउन अन्तिममा कर वृद्धि विरूद्ध चरणबद्ध आन्दोलन भएको थियो । ३२ साउनमा व्यवसायीसँग उपमहानगरले कर वृद्धिको निर्णय फिर्ता लिनेसहित ८ बुँदे सहमति गरेको थियो ।

त्यसको दुई दिन अघि ३० साउनमा नेकपा एमालेका बहुमत नगरसभा सदस्यले कर समायोजन गरेर समस्या समाधानका लागि विशेष नगरसभा माग गर्दै मेयर लामालाई लिखित अनुरोध गरेका थिए । कानुनतः ३० दिनभित्र विशेष नगरसभा बोलाउनु पर्नेहुन्छ । ३० भदौभित्र विशेष नगरसभा बोलाउनु पर्ने दबावमा मेयर लामा छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us