रुस नेपालमा अप्रत्यक्ष रुपमा आउन खोजिरहेको छ: जनार्दन शर्मा

काठमाण्डु टुडे २०८१ भदौ १९ गते १३:२७ मा प्रकाशित

काठमाण्डु, १९ भदौ– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले रुस नेपालमा अप्रत्यक्ष रुपमा आउन खोजिरहेको बताएका छन । आज बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूत जंगबहादुर चौहानको सुनुवाइका क्रममा उनले यस्तो बताएका हुन । उनले पछिल्लो समय रुसले नेपालमा जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा लगानीका लागि इच्छा देखाएको तर अप्रत्यक्ष रुपमा आउन चाहिरहेको पनि बताएका छन ।

शर्माले भने, ‘उनीहरु प्रत्यक्ष होइन, अप्रत्यक्ष रुपमा आउन खोजिरहेका छन् । प्रत्यक्ष रुपमा आउने बाटो के होला ?’ प्रस्तावित राजदूतलाई माओवादी उपमहासचिव शर्माको प्रश्न छ । नेपालमा विगतमा जुट मिल, चिनी कारखाना रुसी सहयोगमै खुलेको उनले स्मरण गरेका छन ।

सुनुवाइ समितिमा आफ्नो कार्ययोजना पेस गर्दै प्रस्तावित राजदूत जंगबहादुर चौहानले रुस नेपालमा लगानीका लागि इच्छुक रहेको आफ्नो अनुभव रहेको पनि बताएका छन ।

उनका अनुसार रुसले नेपालसँग के कस्ता क्षेत्रमा सहयोग र समन्वय गर्न सकिन्छ भनेर योजना माग गरिरहेको छ । उनले भने, ‘रुसले नेपालको जलविद्युतमा लगानी गर्न खोजेको छ । बूढीगण्डकी र तामाकोसीमा प्रस्ताव नै पठाएको थियो । नेपालको रेलमा पनि रुसको चासो छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us