जहाँ रहे पनि मतदान गर्न पाउने वातावरण बनाउन प्रयास हुनेछ: प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ भदौ १९ गते १२:४२ मा प्रकाशित

काठमाण्डु, १९ भदौ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली नागरिकहरु जहाँ बसेका भए पनि मताधिकार प्रयोग गर्न पाउने वातावरण बनाउन प्रयास गर्ने बताएका छन । दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलनलाई आज काठमाण्डुमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

उनले भने, ‘कुनै पनि नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न सक्नुपर्छ । यसका लागि उचित वातावरण बनाउन हाम्रो प्रयास हुनेछ, ‘बसाइँ सराइ, जलवायु परिवर्तन र सामाजिक सञ्जालका अवसर र चुनौतीबीच देश—विदेशमा रहेका जनताका चाहना र अपेक्षाबमोजम निर्वाचन प्रक्रियालाई सहज बनाउन हामीले साझा प्रयास गर्न आवश्यक छ ।’

प्रधानमन्त्री ओलीले हरेक निर्वाचनले जनताको इच्छा र आकांक्षालाई प्रतिविम्वित गर्ने भएकाले मताधिकारको सम्मान गर्नु हरेक राज्यको दायित्व भएको पनि बताएका छन ।

हिमालहरु पग्लिने, समुद्रको तापक्रम बढेर जलवायु परिवर्तनमा पार्ने प्रतिकूल असरका क्रमसँगै मानव जीवनमा आउने चुनौतीका बीच लोकतन्त्रको अभिन्न अंगका रुपमा रहेको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनु साझा दायित्व भएको प्रधानमन्त्री ओलीले बताए ।

सामाजिक सञ्जालले मतदाताको अधिकारलाई सुसूचित गर्न सघाउनुका साथै मिथ्या सूचना, गलत सूचना र घृणास्पद अभिव्यक्ति प्रवाह पनि गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले विगतका कमजोरीबाट सिक्दै लोकतान्त्रिक मूल्य, मान्यताका साथ स्वच्छ, स्वतन्त्र, जवाफदेही र पारदर्शी निर्वाचनको दायित्व पूरा गर्न सकेमा आम जननाको मताधिकारको सम्मान हुने पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us