पार्टीको सुझाव कार्यान्वयनका लागि एमालेले सरकारलाई दबाब दिने

काठमाण्डु टुडे २०८१ भदौ १८ गते १७:४८ मा प्रकाशित

काठमाण्डु, १८ भदौ– एमालेले पार्टीले बुझाएको ध्यानाकर्षणपत्र कार्यान्वयनका लागि सरकारलाई दबाब दिने तयारी गरेको छ । आज मंगलबारदेखि पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकमा महासचिव शंकर पोखरेलले पेस गरेको वार्षिक कार्ययोजनामा सो विषयमा पहलकदमी लिने उल्लेख गरीएको छ ।

पार्टीले ०८१ साल साउन ४ गते सरकारलाई बुझाएको ध्यानाकर्षण पत्र, त्यसपछि झुलाघाट–चिवाभञ्ज्याङका लागि संकल्प यात्राका क्रममा प्राप्त भएका र तत्कालीन सरकारलाई बुझाइएको विषयहरूको कार्यान्वयनमा निरन्तर पहल गर्नका लागि प्राथमिकता दिने कुरालाई महासचिव पोखरेलद्वारा प्रस्तुत वार्षिक कार्ययोजनामा विशेष जोड दिइएको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्दप्रसाद गौतमले जानकारी दिएका छन ।

त्यसैगरी कार्ययोजनामा कम्युनिस्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने, पार्टीको युवा परिचालन नीतिलाई प्रभावकारी रूपमा अघि बढाउने, पार्टी मुख्यालय भवन निर्माणका लागि समिति बनाएर त्यस कामलाई अघि बढाउने, पार्टी कमिटीको नै मूल्यांकन विधिलाई अघि बढाउनेलगायतका एजेण्डाहरु समावेश रहेको छ ।

सरकारले गरेका राष्ट्रिय हित र जनसरोकारका विषयहरूलाई जनतामा स्थापित हुने गरी लैजाने विषयलाई पनि पार्टीले जोड दिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिएका छन ।

उनले भने, ‘खासगरीकन सरकार र जनप्रतिनिधिहरुको परिचालन गर्दाखेरी जनता र राष्ट्रको हितको पक्षमा सरकारको तर्फबाट भएका कामरुलाई जनस्तरमा लगेर स्थापित गर्ने कुरा र विभिन्न विभागहरुबाट प्राप्त सुझावको आधारमा पार्टीले २०८१ साल साउन ४ गते सरकारलाई बुझाएको ध्यानाकर्षण पत्र, त्यसपछि झुलाघाट–चिवाभन्ज्याङका लागि संकल्प यात्राका क्रममा प्राप्त भएका र तत्कालीन सरकारलाई बुझाइएको विषयहरूको कार्यान्वयनमा निरन्तर पहल गर्नका लागि प्राथमिकता दिने विषयमा विशेष जोड गरिएको छ ।

जनप्रतिनिधि र पार्टी कमिटीमार्फत स्थानीय जनताको अपेक्षा र जनसमर्थन विस्तारमा योजना अनुरुप तयार पारिएको मुद्दाहरुलाई सुत्रवद्ध गरी राज्यका निकायहरुमा प्रस्तुत गर्ने कुरामा विशेष जोड दिइएको छ ।

पार्टी नेतृत्वमा रहेका पालिका र वडाहरु समेत स्थानहरुमा उनीहरुको भूमिकालाई प्रभावकारी र जनप्रिय र लोकप्रिय बनाउने कुरामा आवश्यक योजना तयार गरी कार्यान्वयन गर्ने कुरामा विशेष जोड दिइएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us