काठमाण्डु, १८ भदौ– प्युठानमा मानव कङ्काल फेला परेको छ । प्युठानको माण्डवी गाउँपालिका–२ अधेरीको पुरानो घरमा मानव कङ्काल फेला परेको हो ।
स्थानीय दलबहादुर खत्रीको घरमा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले जानकारी दिएका छन । स्थानीय आइतबार बाँदर धपाउन गएको समयमा पानी परेपछि ओतका लागि उक्त घरमा पसेका थिए । ओत लागेको समयमा मानव कङ्काल देखिएको स्थानीय जनाएका छन ।
कपडाले छोपी, प्लास्टिकले बेरेर ढोकामाथि राखेको अवस्थामा कङ्काल फेलापरेको प्रहरीले जानकारी दिएको छ । मानव कङ्काल भेटिएको घर विगत सात वर्षदेखि खाली रहेको थियो ।
घटनाको छानबिन तथा अनुसन्धानका लागि प्रहरी परिचालन भइसकेको छ । सूचना अधिकारी केसीका अनुसार जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापाको नेतृत्वमा प्रहरी टोली आज घटनास्थलमा पुगेको हो । प्रहरीले कङ्काललाई प्यूठान अस्पताल लिई डीएनए प्रोफाइल जाँच तथा शव परीक्षण गरिने जानकारी दिएको छ ।