कतारमा नेपालको पानी बेच्न पहल गर्छु: कतारका लागि प्रस्तावित राजदूत पौडेल

काठमाण्डु टुडे २०८१ भदौ १८ गते १७:०३ मा प्रकाशित

काठमाण्डु, १८ भदौ– कतारका लागि प्रस्तावित राजदूत रमेशचन्द्र पौडेलले आफ्नो पहिलो प्राथमिकता श्रमिकका समस्या समाधान हुने बताएका छन ।

आज मंगलबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा सांसदहरूको प्रश्नको जवाफ दिँदै पौडेलले यस्तो बताएका हुन । उनले श्रमिकका समस्या समाधानका लागि लाग्ने, व्यापारसँग जोडिएका कुराहरू, प्रत्यक्ष एफडिआई भित्राउने विषयमा लागिपर्ने पनि बताएका छन ।

सांसदहरूले नेपालको पानी कतारमा बिक्री गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्नमा उनले त्यसका लागि पनि आफूले पहल गर्ने पाि बताएका छन । कतारसँग पानी व्यापार, अलैँची लगायत अर्थोडक्स चिया लगायत थुप्रै कुराहरू रहेको र यस्ता कुरा कतार पुर्‍याएर बिक्री गर्न त्यत्तिकै जटिल रहेको पनि उनले बताए ।

उनले विगतमा आफू अलि–अलि राजनीति सामाजिक क्षेत्रमा पनि लागेको तर अहिले कुनै जिम्मेवारीमा नरहेको प्रष्ट पारेका छन । आफ्नो अध्ययन औद्योगिक क्षेत्र रहेको, मास्टर डिग्री गर्दा श्रमिकको विषयमा थेसिस गरेको बताउँदै श्रमिक व्यवस्थापन र समस्याका बारेमा आफूले विगतमा धेरै अनुसन्धान उनले बताएका छन ।

श्रमिकका बारेमा आफूलाई ज्ञान र अनुभव रहेको बताउँदै उनले विराटनगर जुट मिलको पुनर्संरचनाको लागि ६ महिना लागिपरेर त्यसको प्रतिवेदन पनि नेपाल सरकारलाई बुझाएको उनले बताएका छन । उनले भने,‘मैले करिब ६ महिना जुटमिलमा श्रमिकसँग बिताएकाले श्रमिकका समस्या बुझ्छु ।

त्यसकारण मेरो ज्ञान, बुद्धि, विवेक र क्षमताले भ्याएसम्म श्रमिकको पक्षमा काम गर्छु । त्यहाँ जानुभएका पूर्वराजदूतले पूरा समय सुत्न नपाउँदा मधुमेह भएर औषधी खानुपर्छ भन्नुहुन्थ्यो । मलाई डर पनि देखाउनुभएको थियो उहाँले । तर म त्यहाँ गएर जस्तो समस्या परेपनि गर्छु । श्रमिकहरूका कार्यस्थलका समस्याका कुराहरू आए, तलबका कुरा आए ।

त्यहाँ श्रमिकको न्यूनतम तलब १ हजार रियाल, ५ सय रुपैयाँ आवासका लागि र ३ सय रियाल खाना खर्च भनेर दिने गरेको रहेछ । यसलाई नेपालीमा रूपान्तरमा गर्दा तुलनात्मक रूपमा कम नै हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us